‘अख्तियार भुक्दैन मात्र, अब टोक्न थाल्छ’

ललितबहादुर बुढा


सुर्खेत: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा भष्ट्राचार संस्थागत हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । संस्थागतरुपमा नै भष्ट्राचार भइरहेको बताउँदै आयोगले अब राज्यले नै भष्ट्राचारविरुद्ध निर्मम प्रहार गर्नुपर्ने जनाएको छ ।

भष्ट्राचार नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुने जानकारी दिँदै आयोगले अब भुक्ने भन्दा पनि टोक्ने कामलाई प्राथमिकता दिने बताएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नविनकुमार घिमिरेले भष्ट्राचार नियन्त्रणका लागि आयोगले कसैसँग सम्झौता नगर्ने बताए । भष्ट्राचार नियन्त्रण सम्बन्धी सोमवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा आयुक्त घिमिरेले भने,‘अख्तियारले केवल भुक्ने काम मात्र गर्यो भन्ने आरोप छ, हामी यो आरोपलाई चिर्न तयार छौं । अब अख्तियारले भुक्ने मात्र होइन, टोक्ने काम पनि गर्नेछ ।’
काम कम गर्ने र हल्ला बढी गरेर आयोगले भष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको गुनासो आउने गरेको भन्दै घिमिरेले अब आफूहरुले भष्ट्राचारीलाई भुकेर तर्साउने नभई टोकेर कानुनी दायरामा ल्याउने जनाए ।
‘अब आयोगले भुक्ने र टोक्ने दुबै काम एकैसाथ गर्नेछ’ आयुक्त घिमिरेले थपे, ‘सबैले कानुनी घेराभित्र रहेर काम गरौं, अधिकारको दुरुपयोग गर्नेलाई हामी कुनै पनि हालतमा छोड्दैनौं । हामीले भुक्दा अटेर गर्नेहरुले, कडा टोकाइको पीडा भोग्नु पर्नेछ ।’
उनले सूरुमा सचेत गराउने र भष्ट्राचार गर्नेलाई दण्ड दिलाउनका लागि आयोगले कुनै कसर बाँकी नराख्ने समेत दाबी गरे । भष्ट्राचारलाई सामाजिक रुपमा समेत बहिस्कार गर्ने संस्कारको विकास नहुँदा समस्या उत्पन्न भएको उनको भनाइ छ ।
मध्यपश्चिम क्षेत्रमा सरकारी सवारीको दुरुपयोग बढेको, असारे विकासको सस्कृति मौलाएको र जनताले सहज रुपमा सरकारी सेवा नपाएको गुनासो बढेको भन्दै आयुक्त घिमिरेले त्यसलाई रोक्न मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतलाई निर्देशन दिए ।
पछिल्लो समय आयोगमा गलत उजुरी दिने क्रम बढेको बताउँदै उनले अब आयोगले त्यस्ता व्यक्तिहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । अब जनता सेवा खोज्दै कार्यालयमा धाउँने प्रवृत्तिलाई तोडेर सेवा जनताको ढोकामा पुग्नुपर्ने उनको भनाइ छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले संवैधानिक निकायमा हुने राजनीतिक भागवण्डाको अन्त्य नुहँदासम्म भष्ट्राचार नरोकिने बताए । ‘नीति मिचेर मात्र होइन, नियत गलत हुँदा पनि समस्या भयो’ उनले भने,‘उच्च तहबाटै भष्ट्राचारलाई संस्थागत गरिएको छ, तल्लो तहमा मात्र हल्ला गरेर भष्ट्राचार नियन्त्रण सम्भव छैन ।’
सो अवसरमा सुर्खेतका नागरिकहरुले अख्तियारले केवल कमजोर र सानालाई मात्र समात्ने गरेको भन्दै उच्च तहमा कारबाही थाल्न आग्रह गरेका थिए । आयोगले साना माछा मात्र समातेको भन्दै उनीहरुले अब ठूला माछा पनि समात्न सुझाव दिए ।
यस्तै यहाँका नागरिकहरुले समयमा काम सम्पन्न नगर्ने ठेकेदार र सरकारी साधनको दुरुपयोग गर्नेलाई कारबाही तथा गैरसरकारी संस्थाहरुलाई समेत आयोगले नियमन गर्नुपर्ने सुझाव दिएका छन् । मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयका निमित्त प्रमुख नारायण सापकोटाले सदाचार भएर काम गरेमा अख्तियारसँग कोही त्रसित हुनु नपर्ने बताए ।
उनले भने,‘अहिले अख्तियारको डर र भयले सरकारी काममा बाधा पुगेको छ, सबैले इमान्दार भएर काम गरौं । कानुनी दायरामा रहेर काम गरेमा कसैले डराउनु पर्दैन ।’
यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले भष्ट्राचार नियन्त्रणका लागि विद्यालय र क्याम्पसको पाठ्यपुस्तकमा नै यसबारेमा उल्लेख गनिनुपर्ने बताए । सबैले पारदर्शी र इमान्दार भएर काम गरेमा भष्ट्राचार रोक्न समस्या नहुने उनको भनाइ छ ।
अख्तियारका क्षेत्रीय प्रमुख सिताराम कार्कीले मध्यपश्चिम क्षेत्रमा सबैभन्दा बढी शिक्षा र स्थानीय निकायमा भष्ट्राचार भएको उजुरीहरु आएको जानकारी दिए ।
स्थानीय निकायमा जनप्रतिनीधि नहुँदा भष्ट्राचार मौलाएको उनको भनाइ छ । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय, स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी र नागरिक सरोकार संघका जिल्ला संयोजक तिर्थजंग शाहीले भष्ट्राचार नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेको बताएका थिए ।

– See more at: http://annapurnapost.com/News.aspx/story/48386#sthash.0ezTGff0.dpuf

  • २०७३ बैशाख २० सोमबार
    अन्नपूर्ण पाेष्ट दैनिकबाट साभार ।
Do NOT follow this link or you will be banned from the site!