असल शासन क्लबको सार्वजनिक सुनुवाई सम्पन्न

धनकुटा/असल शासनको क्षेत्रमा काम गर्दै आएको जनहित असल शासन क्लबले पहिलो पटक आफ्नो संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
संस्थाको १६ औं वार्षिकोत्सवको अवसरमा क्लबले आफ्नो केन्द्रीय कार्यालयमा सार्वजनिक सुनुवाई आयोजना गरेको हो । कार्यक्रममा क्लबको गतिविधि, कार्यक्रम, आयव्ययको बारेमा जानकारी गराईएको थियो । कुरुले तेनुपा उच्च माविमा भएको सो सार्वजनिक सुनुवाईमा स्थानीय ८० जनाको सहभागिता रहेको थियो । सहभागीहरुबाट उठेका जिज्ञाषाको क्लबका अध्यक्ष भोजकुमार काफ्ले र कार्यक्रम संयोजक हुकुमप्रसाद दाहालले जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाविस सचिव रामकुमार डँगोल, कुरुलेतेनुपा उच्च माविका प्रअ भक्त सुब्बा, पूर्व गाविस उपाध्यक्ष एवं स्थानीय शान्ति समितिका संयोजक टेकप्रसाद भण्डारी, देउराली उच्च मावि, वेलहाराका प्रअ घनश्याम बराल लगायतले संस्थालाई विभिन्न सुझावहरु दिनुभएको थियो । कार्यक्रमको सहजीकरण स्थानीय गोपीकृष्ण भण्डारीले गर्नुभएको थियो । जनहित असल शासन क्लबले विगत एक दशकदेखि धनकुटा जिल्लामा स्थानीय निकायहरुको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गर्दै आएको छ भने हाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा धनकुटा जिल्लाका सम्पूर्ण स्थानीय निकायहरुको जवाफदेहिता अनुगमन परियोजना सञ्चालन गरिरहेको छ ।


अक्षय कोषबाट सम्मान र छात्रवृत्ति वितरण


जनहित असल शासन क्लब, धनकुटाले आफ्नो १६ औं वार्षिकोत्सवमा एक दर्जन जेष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यस्तै एक दर्जन विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।
क्लबले सो अवसरमा कुरुले तेनुपामा क्लबको संरक्षकत्वमा रहेको जनहित अक्षय कोषबाट गाविसका १२ जना जेष्ठ नागरिकलाई अभिनन्दन गरेको हो । अभिनन्दनसंगै सबैलाई प्रोत्साहन स्वरुप नगद नौ ९ सय ५० र अभिनन्दन पत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रममा सम्मानीत हुनुहुने जेष्ठ नागरिकहरुमा कुरुले तेनुपा वडा नं. ९ का पोपा लिम्बु, वडा नं. ८ का मनबहादुर माझी, वडा नं. ७ का रुपलाल मगर, वडा नं. ६ का थलमान लिम्बु, वडा नं. ५ का पदमप्रसाद घिमिरे, वडा नं. ३ का शुकमाया मगर र श्यामरानी दर्जी, वडा नं. २ का हर्कमाया याखा र मधुमाया दर्जी तथा वडा नं. १ का चतुरसिँह तामाङ्ग, गौरीमाया तामाङ्ग र लोकेन्द्र घिमिरे गरी १२ जना रहनुभएको छ । उहाँहरुलाई गाविसको अभिलेखानुसार जेष्ठताको आधारमा सम्मान गरिएको हो ।
यसैगरी सोहि अवसरमा गाविसभित्रका एक दर्जन विद्यार्थीलाई जनहित अक्षय कोषबाट छात्रवृत्ति प्रदान गरिएको छ । नगद रु ९५० संगै प्रमाण पत्र समेत सो अवसरमा विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरुमा कुरुले तेनुपा उच्च माविका छात्र शम्भु मगर, जनसेवा निमावि, बाजथलाकी छात्रा सिर्जना मोक्तान, जनकल्याण निमावि बरगाछीका छात्र बाबुराम लिम्बु, त्रैलोक्यश्वर प्रावि, भैंसेटारका छात्र सुवास माझी, जानकी बुढासुब्बा प्राविका छात्र सन्दिप मगर, बुद्ध प्रावि भदौंरेका छात्र रविन मोक्तान, जालपादेवी प्रावि, सुरुङ्गीका छात्र लोकेन्द्र थापा, जनज्योती प्रावि, तीनजुरेकी छात्रा सरु तामाङ, संयुक्त ग्रामिण जनता प्रावि, मानेडाँडाका छात्र नगेन्द्र योञ्जन, जीवनज्योती प्रावि, तल्लो सोगुमका छात्र मचिन्द्र राना मगर, सरस्वती प्रावि, फलामेटार का छात्र सुदिप बि.क. र जनता प्रावि, बाँसपानीकी छात्रा रुस्मिता आचार्य गरी १२ जना नै रहनुभएको छ । उनीहरुलाई सम्बन्धित विद्यालयको व्यवस्थापन समितिको सिफारिसमा अक्षय कोष सिफारिस समितिले छात्रवृत्तिको लागि चयन गरी सिफारिस गरेको थियो ।
हालसम्म अक्षय कोषको लागि कूरुले तेनुपा स्थायी ठेगाना भई देश विदेशमा रहनु भएका २६५ जना महानुभावहरुबाट ३ लाख ११ हजार ६१ रुपैया नगद संकलन भएको छ । प्राप्त सहयोगलाई बंैकमा राखी ब्याजबाट प्राप्त २७ हजार व्याज रकमले यो कार्यक्रम सम्पन्न भएको क्लबका कार्यक्रम संयोजक हुकुमप्रसाद दाहालले बताउनु भयो । यो कोषमा कुरुले तेनुपा गाविससंग स्थायी ठेगाना जोडिएका व्यक्तिहरुले मात्र सहयोग गर्न पाउने व्यवस्था क्लबले गरेको छ ।



अक्षय कोषबाट विद्यार्थीलाई छात्रवृत्ति


कुरुले तेनुपा १ स्थायी ठेगाना भई हाल विश्वभाषा क्याम्पसमा प्राध्यापनरत गणेशप्रसाद बरालले आफ्नी श्रीमति निलादेवी बरालको स्मृतिमा स्थापना गर्नुभएको २ लाखको अक्षयकोषको ब्याजबाट कुरुले तेनुपा उच्च माविबाट गत वर्ष र यस वर्ष उत्कृष्ट अंक ल्याउने दुई जना छात्राहरुलाई आज एक कार्यक्रमका बीच नगद रु ११ हजार १ सय ११ रुपैयाको छात्रवृत्ति प्रदान गरिएको छ । यसरी छात्रवृत्ती पाउने छात्राहरुमा गत वर्षकाे एसएलसीमा उत्कृष्ट अ‌क ल्याउने छात्रा कुशुम ताामाँग र यस वर्षकाे एसएलसीमा उत्कृष्ट अ‌क ल्याउने छात्रा गाेमा ढुँगाना रहेका छन् ।  आज कुरुले तेनुपा उच्च माविमा आयोजित जनहित असल शासन क्लबको वार्षिकोत्सव कार्यक्रममा देउराली उच्च माविका प्रअ घनश्याम बरालले दुवै विद्यार्थीलाई नगद र प्रमाण पत्र हस्तान्तरण गर्नुभएको कुरुले तेनुपाबाट देउराली उच्च माविकी शिक्षिका सविता बरालले बताउनु भयो ।


गाविसबाट जेष्ठनागरिक सम्मानित


कुरुलेतेनुपा गाविसको कार्यालयले कुरुले तेनुपाका १६ जना अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बीच आज सम्मान गरेको छ । गाविस सचिव रामकुमार डँगोलले आज आयोजित एक कार्यक्रमका बीच जनहि १ हजार १ सय नगद र सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो । गाविसले हरेक वर्ष जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम गर्दै आएको गाविस सचिव डँगोलले बताउनु भयो ।

 

Do NOT follow this link or you will be banned from the site!