एकैजनाका तीन हजार गुनासा

जेष्ठ २३, २०७३- सडकमा खाल्डाखुल्डी परेको होस् कि बिजुलीका तार लत्रेको, प्रहरीले घुस खाएको होस् वा सरकारी कार्यालयको सम्पति दुरुपयोग भएको । प्रनिस थापा यस्ता कुरा देखेको नदेख्यै गर्न सक्दैनन् । फोटो वा भिडियो खिचेर ‘हेलो सरकार’मा खबर नगरी उनलाई चित्त बुझ्दैन । तपाईंलाई पत्यार नलाग्न सक्छ चितवन रत्ननगर–२, टाँडीका १७ वर्षीय प्रनिसले ५ वर्षमा तीन हजारभन्दा बढी गुनासा हेलो सरकारमा पठाइसकेका छन् ।

हेलो सरकार सुरु हुँदा प्रनिस १२ वर्षका थिए । गुनासो र उजुरी गर्न उनले त्यसैबेलादेखि थालेका हुन् । अखबारमा छापिएका समाचारका कटिंग वा टिभीमा आउने समाचारका क्लिपसमेत उनी पठाउँछन् । कतै त आफैं सेवाग्राही बनेर पुग्ने अनि अनियमितता वा नियम उल्लंघन देखेमा भिडियो खिचेर पठाउने पनि गरेका छन् । हेलो सरकारमा उनले अहिलेसम्म करिब २ हजार ५ सय उजुरी टेलिफोनबाट टिपाएका छन् भने ५ सय जति इमेलबाट पठाएका छन् । पछिल्लो ३ महिनामा उनले ५ सय उजुरी टेलिफोनबाट टिपाएका छन् । हेलो सरकार संचालनमा आएयता वैशाख मसान्तसम्म जम्मा ४६ हजार ५६ वटा गुनासो र उजुरी दर्ता भएका छन् ।

उनकै गुनासोले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका ‘नोडल’ अधिकृतहरु कायल छन् । मन्त्रालयका ‘नोडल’ अधिकृत दीपेन्द्र रेग्मी भन्छन्, ‘हाम्रो त कामै उनको गुनासोबारे सम्बन्धित निकायमा चलानी पत्र काट्नु मात्रै भइसक्यो, एउटा भए पो ।’ रेग्मीको अनुभवमा प्रनिसले गुनासो नगरेको कुनै विषय छैन । मन्त्रालयका अर्का ‘नोडल’ अधिकृत नरहरी भण्डारी भन्छन्, ‘उनको गुनासोको लस्कर देखेर हामी त आत्तिइसक्यौं ।’ हेल्लो सरकार कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्याय उनी सबभन्दा धेरै गुनासो टिपाउनेमा पर्ने बताउँछन् ।

नवलपरासीको एक निजी कलेजमा ११ कक्षामा पढै गरेका प्रनिस भन्छन्, ‘बेथितिबारे सरकारलाई थाहा दिनुपर्छ भन्ने लागेर गुनासो गर्ने गरेको हुँ, टिपाएका अधिकांश समस्याको प्रमाण पनि समावेश गर्छु ।’

सरकारी कार्यालयमा व्याप्त समस्या बुझ्नकै लागि भनेर आफू १४ जिल्ला पुगेको उनी बताउँछन् । ‘अरु छुट्टिका बेला घुम्न जान्छन् म विभिन्न जिल्ला पुगेर त्यहाँका सरकारी कार्यालयको बेथितीको फोटो र भिडियो खिचेर उजुरी टिपाउँछु ।’ घुस मागिरहेका र इन्धन कालोबजारी गरिरहेको प्रहरीको त उनले भिडियो खिचेरै उजुरी टिपाएका थिए । प्रहरीका आचरणसम्बन्धि करिब डेढ सय उजुरी उनले प्रहरी प्रधान कार्यालयमा पनि दर्ता गराएका छन् ।

प्रनिस स्कुल पढदादेखि नै गाउँघरमा देखिएका समस्याबारे नजिकको प्रहरी कार्यालयमा उजुरी टिपाउँथे । हेल्लो सरकार संचालनमा आएयता गुनासो यतै सर्‍यो । ‘केही हुन्छ कि भन्ने आशाले म गुनासो गर्छु । समाजमा भएका र हुने नराम्रा कामप्रति नागरिकहरुले प्रश्न नगर्ने हो भने सरकारी निकायले जिम्मेवारी बोध गर्दैन,’ उनी भन्छन्, ‘गुनासो गर्दा मलाई आफ्नो कर्तव्य पूरा गरेजस्तो लाग्छ ।’ आफुले टिपाएको गुनासोबारे उनले बेलाखबत विभिन्न सरकारी निकायको पत्र पनि पाउँछन्( हाम्रो ध्यानाकर्षण भयो वा तपाईंको गुनासो सुनुवाई हुँदैछ भन्ने खालका । ‘समस्या समाधान भएका पत्र भने एकदमै थोरै पाउँछु,’ उनी सुनाउँछन् ।

उनकै भनाईमा उनले गरेका गुनासोमध्ये दस प्रतिशतको पनि राम्ररी सुनवाई भएको छैन । आफ्नो गुनासोकै कारण केही सरकारी कार्यालयका कर्मचारीलाई आफ्नो कामप्रति जिम्मेवार बनाएको भन्ने चाहिँ उनलाई लाग्छ । केही कर्मचारी उनकै गुनासोका कारण सरुवा भएका छन् भने केहीले उपल्लो निकायबाट सचेत(पत्र पाएका छन् ।

यसरी गुनासो गर्नुको अर्को पाटो पनि छ । ‘मलाई किन गुनासो गरिस् भनेर बेनामे फोनहरु पनि आउँछन्,’ उनी सुनाउँछन् । यसरी फोन गर्नेले गाली गर्नेदेखि धम्की दिनेसम्म गरेको उनी बताउँछन् ।

उनले बेथिती नदेखेको कुनै सरकारी कार्यालय छैन भन्दा पनि हुन्छ । कतिसम्म भने, गुनासो सुन्ने हेलो सरकारकै काम प्रभावकारी नभएको भन्दै उनले प्रधानमन्त्री कार्यालयमा उजुरी टिपाए । धेरै गुनासो गरेको भनेर ‘हेल्लो सरकार’कै कर्मचारीले समेत उनलाई गाली गरेका छन् । ‘कति धेरै गुनासो गरेको, अरु काम छैन भनेर उल्टै हप्काए,’ उनले सुनाए ।

गुनासोकर्ताको नाम गोप्य राख्ने सर्त पनि हेलो सरकारले उल्लंघन गरेको उनी बताउँछन् । ‘मैले चितवन जिल्लाका कुनै पनि गुनासो आफ्नो नाममा टिपाउँदिनँ तर मलाई यहाँका कर्मचारीले किन गुनासो गरिस् भनेर हर्काछन््,’ उनी प्रश्न गर्छन्, ‘हेलो सरकारबाट नाम नदिए मैले नै गुनासो गरेको कसरी थाहा हुन्छ त ?’

कान्तिपुर दैनिकबाट ।

Do NOT follow this link or you will be banned from the site!