एमाओवादी सांसद लामाविरुद्ध भ्रष्टाचार मुद्दा

९ करोड ४४ लाख गैरकानुनी रूपमा आर्जन गरेको अभियोग


 

कृष्ण ज्ञवाली, काठमाडौं


वैशाख ३०, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार एमाओवादी सांसद एवं पूर्व अर्थ राज्यमन्त्री ल्हारक्याल लामाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ९ करोड ४४ लाख रुपैया गैरकानूनी रुपमा आर्जन गरेको अभियोगमा लामा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । विगोको हिसावले सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध अख्तियारले दायर मुद्दामध्ये यो सबैभन्दा ठूलो मुद्दा हो ।

लामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट सांसद मानिन्छन् । विवादित पृष्ठभूमिका लामा यसअघि २०५८ पुसमा गुम्बा विकास समितीका अध्यक्ष भएका थिए, त्यति बेला उनी कांग्रेस नेता थिए । पहिलो संविधानसभामा उनी समानुपातिक सिटमा एमालेबाट सभासद हुनुका साथै अर्थराज्य मन्त्रीसमेत भएका थिए । दोहोरो नागरिकता लिएकको आरोप लागेपछि उनले राज्यमन्त्रीबाट राजिनामा दिएका थिए ।

दोस्रो संविधानसभामा उनी एमाओवादीबाट सभासद र रूपान्तरित संसदमा सांसद छन् । अख्तियारले तीन पटक सार्वजनिक पदमा बहाल रहँदा उनले गरेको आर्जनको छानविन गरेको हो । अख्तियारका प्रवक्ता कृष्णहरी पुस्करले सार्वजनिक पदमा रहेको अवधिमा लामाको आर्जन अस्वभाविक देखिएकाले मुद्दा दायर गरिएको बताए । ‘उहाँ तीनपटक सार्वजनिक पदमा रहेको देखियो’ पुस्करले कान्तिपुरसित भने,  ‘त्यसअवधिको आर्जन कानूनसम्मत नदेखिएकाले गैरकानूनी आर्जन गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।’

अख्तियारले २०५८ देखि गत पुस मसान्तसम्म लामाको सम्पत्ति छानविन गरिएको जनाएको छ । त्यसक्रममा उनको आम्दानी २० करोड ३४ लाख र खर्च २९ करोड ७९ लाख भएको भेटिएको छ । आर्जनको तुलनामा खर्च बढी भएमा गैरकानूनी आर्जन मानिन्छ । अख्तियारको छानविनले यसअवधिमा लामाले तलबभत्ता, जग्गा विक्री, ऋण सापटीलगायतबाट आम्दानी भएको देखाएका थिए भने घर निर्माण, जग्गा खरिद, शेयर तथा सवारीसाधन खरिद, विभिन्न घरायसी सामान खरिद र बैंक मौज्दात गरेको अख्तियारको दावी छ । अख्तियारले लामा सांसद भएकाले विशिष्ट सार्वजनिक पदमा रहेको हैसियतले हदैसम्मको कारवाही बाहेक थप दोब्बर जरिवाना गर्नसमेत अभियोगमा मागदावी गरेको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा लामाको अत्यधिक जग्गा कारोवार र त्यस क्रममा भएको खरिदविक्रीको उतारचढावको दरलाई नै शंकास्पद मानिएको छ । विशेष अदालतका एक अधिकृतका अनुसार, लामा सभासद् भएपछि उनको जग्गाको कारोवार पनि निकै बढेको देखिन्छ । ‘आज ३३ लाखमा खरिद भएको जग्गा तीन महिनापछि डेढ करोडमा विक्री भएको देखाइएको छ’ ती अधिकृतले भने, ‘शुरुकै आर्जन बैध नदेखिएकाले त्यसबाट भएका अन्य कारोवारलाई पनि अख्तियारले अबैध भनी मागदावी गरेको छ ।’
लामा २०५८ सालदेखि दुई पटक गुम्बा विकास समितीको अध्यक्ष बने । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तीमा उनले लगातार दुई कार्यकाल अनवरत रुपमा काम गरे । त्यसक्रममा केही रकम गैरकानूनी आर्जन देखिएपनि त्यसको ग्राफ खासै उक्लेको देखिदैन । २०६२ सालमा उनको दोस्रो कार्यकाल पूरा भयो । त्यसपछि उनी पहिलो संविधानसभामा सदस्य भए । ‘सांसद र सभासद भएको अवधिमा उहाले आर्जन गरेको सम्पत्ति अस्वभाविक रुपमा बढेको देखिन्छ’ अख्तियार प्रवक्ता पुस्करले भने । गुम्बा विकास समितीको अध्यक्ष पद छाडेपछि उनी केही समय सार्वजनिक पद बाहिर थिए । त्यसअवधिको सम्पत्ति भने छानविन नगरिएको अख्तियारले जनाएको छ ।

लामामाथिको पछिल्लो छानविनले करिव १० करोड रुपैंया जग्गामा मात्रै लगानी गरेको भेटिएको अख्तियारले जनाएको छ । त्यसबाहेक बुढानिलकण्ठमा उनको ३ वटा घर भेटिएको छ । एउटा घरमा उनी बस्छन् भने बाकी दुईमा बौद्ध भिक्षुहरुका लागि विद्यालय सञ्चालन गरेको उनले बयानका क्रममा खुलाएको अख्तियार स्रोतले बतायो । उनको ९० लाख रुपैंया मूल्यांकन गरिएको सवारीसाधन पनि छानविनमा परेको थियो ।

छानविनका क्रममा लामासँग जोडिएका, तर क्षेत्राधिकार नभएका अन्य कारोवार पनि भेटिएको अख्तियार स्रोतको दावी छ । आफै अध्यक्ष रहेको सिद्धार्थ फाउण्डेसनका नाममा उनले विभिन्न मुलुमबाट सहयोग लिएको खुलेको छ । समाज कल्याण परिषदको क्षेत्राधिकारमा पर्ने तर प्रक्रिया नपुर्‍याई गरिएको सहयोगको हिस्सा भने छानविनमा नपरेको एक अनुसन्धान अधिकृतले बताए । त्यस्तै नोर्बु शान्तु लगायतका संस्थासगको कारोवार पनि देखिएको छ । उनले आफ्नो आर्जनलाई आफ्नै स्वामित्वको कुबेर हाउजिड र ब्रिज कम्पनीको आम्दानी बयानमा दावी गरेका थिए । तर ती कार्यालयहरूले आयकर नतिरेको भनी कर कार्यालयहरुले अख्तियारमा पत्राचार गरेका छन् ।

अख्तियारले गत पुसमा विभिन्न सार्वजनिक पदमा रहेका २८ जनाको बैंक लकर रोक्का गरेर सम्पत्तिछानविन गरेको थियो, जसमा लामा पनि एक थिए । लामामाथि अख्तियारले पुस १८ गते पत्र काटेर बोलायो । त्यसलगत्तै २० देखि २२ गतेसम्म ४ करोड रुपैंया खाताबाट निकालेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यसपछि उनको बैंकखातामा भने ६४ लाख रुपैंयामात्रै बाकी थियो ।

लामामाथि छानविनका क्रममा अख्तियारले दरवारमार्गस्थित इन्भेष्टमेन्ट बैंकमा रहेको उनको लकर छानविनका क्रममा गोली बरामद गरेको थियो । त्यसपछि प्रहरीले उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत फौजदारी मुद्दा चलाएपछि उनी पदबाट निलम्बनमा परेका थिए । तर उनी धरौटी बुझाएर तारेखमा छुटेका थिए । छानविनका क्रममा विवरणमा उल्लेख नगरेपनि लाजिम्पाटस्थित स्टाण्डर्ड चाटर्ड बैंकको लकर पनि भेटिएको थियो, लगत्तै छानविन हुनासाथ लकर रित्तो भेटिएको अख्तियारस्रोतले बतायो । अख्तियारको नियमित तारिखमा रहेका लामा बुधवारको तारिख भने गुजारेका थिए । उनलाई फरार भनी अख्तियारले आरोपपत्र दायर गरेको छ ।

http://kantipur.ekantipur.com/news/2016-05-12/20160512144738.html

Do NOT follow this link or you will be banned from the site!