कर्ण शाक्यको ‘१ पैसा’ उपाय, जसबाट बन्यो क्यान्सर अस्पताल

विश्व धुम्रपान रहित दिवस विशेष

-डिबी खड्का
karna shakya

कर्ण शाक्य

क्यान्सरको उपचार सेवा र जनचेतनाका लागि सरकारले खर्च गर्ने रकममध्ये बर्सेनि झण्डै ५० करोड रुपैयाँ अहिले चुरोटबाट मात्रै उठ्छ  । क्यान्सर निम्त्याउने चुरोटको  एक खिल्ली सेवन गर्दा क्यान्सरकै लागि १ पैसा तिरिरहेका हुन्छन् उपभोक्ताले । यही १ पैसाले अहिले नेपालले क्यान्सर उपचार र जनचेतनाको क्षेत्रमा उलेख्य प्रगति गरिरहेको छ ।

हरेक कुराको सुरुवातका लागि विदेशी सहयोगको मुख ताक्नुपर्ने सरकारका लागि प्रतिखिल्ली १ पैसा थप राजस्व लिएर क्यान्सर उपचार र जनचेतनाका क्षेत्रमा खर्च गर्ने उपाय सुझाउने व्यक्ति हुन् कर्ण शाक्य । उद्यमी तथा लेखक शाक्यले यस्तो बेला सरकारलाई उपाय सुझाएका थिए, जतिबेला नेपालमा क्यान्सरको उपचार गर्ने न कुनै अस्पताल थियो, न जनचेतना जगाउने कुनै कार्यक्रम । नेपालकै लगानीले नेपालमै सुरु गरेर सफल भएको कार्यक्रम मध्येको एक यो अहिले कर कोषका रुपमा रहेको छ ।

आफैं क्यान्सर पीडित

‘वल्र्ड नो टोबाको डे’ को सन्दर्भमा केही सामग्री बनाउने क्रममा हामीले क्यान्सर उपचार तथा जनचेतनाका लागि ‘१ पैसा राजस्व’ का अवधारणाकार कर्ण शाक्यलाई भेटेर केही उनका अनुभव जान्न चाह्यौं । उनलाई हामीले लाजिम्पाटस्थित घरमा भेट्यौं । यो कोषको अवधारणाबारे सुनाउनु अघि उनले आफैं र परिवारसँग जोडिएका केही दुःखद् घटना बताए । उनी आफैं क्यान्सरपीडित हुन् । उनलाई १० वर्षअघि प्रोष्टेड क्यान्सर देखिएको थियो । सुरुवाती चरणमै पत्ता लाग्यो । उपचार गराएर त्यसबाट मुक्त छन् अहिले ।

उनी आजभन्दा २७ वर्षअघि फर्किए । जतिबेला नेपालमा क्यान्सर पहिचान गर्ने कुनै अस्पताल वा प्रविधि थिएन । जसबाट उनी आफैं पीडित भए । उनकी श्रीमती र छोरीको क्यान्सरकै कारण निधन भयो । शाक्य सम्झिन्छन्, ‘सन् १९८७ मा छोरी र श्रीमतीको क्यान्सरबाट मृत्यु भयो, विदेशका विभिन्न ठाउँमा उपचारका लागि चहारेँ, तर पनि  छोरी र श्रीमती जोगाउन सकिनँ ।’  किनभने क्यान्सर भएको अन्तिम चरणमा मात्रै पहिचान भएको थियो ।

क्यान्सर भएपछि पीडितले पाउने दुःख त छँदैछ । आफन्तले झेल्ने कष्ट उनले महशुस गरे । उनलाई लाग्यो, ‘यो रोग त भयाबह नै रहेछ । यसका बारेमा किन जनचेतना नफैलाउने ? सबै उपचारका लागि विदेश जान सक्दैनन् । नेपालमै उपचार हुने व्यवस्था किन नमिलाउने ?’

त्यो २७ वर्षअघिको परिस्थिति निकै डरलाग्दो पनि थियो । कसैको घरका सदस्यलाई क्यान्सर भएको थाहा पाएपछि समाजले नै विभेद गथ्र्याे । त्यसैले परिवारका कुनै सदस्यमा रहेको यस्तो रोग सक्दो लुकाउँथे मान्छेहरु । पहिलोपल्ट कर्ण शाक्यले गोरखापत्र र राइजिङ नेपालमा लेखे– श्रीमती र छोरी क्यान्सरबाट गुमाएको घटना, क्यान्सर भएपछि दिने दुःख र नहुने उपचारका बारेमा । उनी भन्छन्, ‘जनचेतना जगाउनका लागि सुरुवात आफैंबाट गर्नु थियो, गरें ।’

क्यान्सर उपचार केन्द्रका लागि पाएका कष्ट

नेपालको ठूलो जनसँख्या गरिब छ । उनीहरु क्यान्सरको उपचार गराउन विदेश जान सक्दैनन् भन्ने महसुस गरेर शाक्यले नेपालमै यस्तो सेवा उपलब्ध गराउन सरकारलाई सुझाए ।  मरिचमान श्रेष्ठ प्रधानमन्त्री हुँदा उनले पहिलोपल्ट क्यान्सर उपचार केन्द्र खोल्ने प्रस्ताव सरकारसमक्ष राखेका थिए । तर उनको कुरालाई प्रधानमन्त्री श्रेष्ठले ठाडै अस्वीकार गरिदिए । ‘७५ जिल्लामा डाक्टर पु¥याउन त सकेको छैन, क्यान्सर उपचार गर्ने छुट्टै ठाउँको कुरा कसरी गर्नु,’ मरिचमानले भनेको सम्झे उनले । तर प्रधानमन्त्रीसँग अनुरोध गर्न भने कहिल्यै छाडेनन् । यसका लागि प्रधानमन्त्री निवास धाउन पनि छाडेनन् ।

क्यान्सर भएर आफन्त गुमाउनुको पीडा महसुस गरेका थिए उनले । त्यसैले उनी रोकिनेवाला त थिएनन् । तर कसरी अघि बढ्ने भन्ने मेसो पनि पाइरहेका थिएनन् ।

घान्द्रुकमा फुरेको ‘१ पैसा’ को उपाय

कर्ण शाक्य कति चिन्तशील छन् र उनलाई लागेको कुरा कति गहिरोसँग लिन्छन् भन्ने कुरा उनका किताब पढ्नेले जानकारी पाएकै हुनुपर्छ । त्यसबाटै थाहा हुन्छ, उनी कति मिहिनेती छन् भन्ने पनि । उनी भन्छन्, ‘मैले कुनै कुरा आँटे भने त्यो पूरा नगरी निदाउन सक्दिनँ । निदाएँ पनि त्यसैका सपना देखिन्छन् । मन चन्चल हुन्छ ।’ सरकारले यसमा कुनै चासो नदेखाएपछि उनलाई त्यस्तै भयो ।

उनलाई लाग्यो– राज्यले ७५ वटा जिल्लामा डाक्टरै पु¥याओस् । क्यान्सरका लागि आफैंले केही आइडिया निकाल्नुपर्छ भन्ने निष्कर्षमा पुगे । तर, तरिका के ? केही समय यसैले उनलाई अल्झायो । अनि घान्द्रुकतिर घुम्न निस्के एकदिन । भन्छन्, ‘जब म समस्यामा पर्छु, तब प्रकृतिको काखको शरण लिन्छु ।’

केही समयको हिँडाइपछि उनी बाटैमा रहेको चौतारीमा आराम गरिरहेका थिए । एक महिला भारी बोकेर आइन् । चौतारीको आडमा भारी बिसाएर थकाई मार्न थालिन् । चुरोट सल्काइन् । सकियो । एकछिन पछि फेरि सल्काइन् । शाक्यले उनलाई सोधेछन्, ‘बहिनी, दिनमा कति चुरोट खानुहुन्छ ?’ उनीतिर हेर्दै ती महिलाले निष्फिक्री उत्तर दिइछन्, ‘त्यस्तै एक डेढ बट्टा जान्छ होला ।’

उनले हिसाब गरे । एक महिलाले दिनमा २० देखि ३० खिल्ली चुरोट पिउँछिन् । देशभरिमा एकदिन कति चुरोट सल्काइन्छन् होला ! त्यसपछि सल्कियो उनको मनमा आइडियाको आगो । फर्किएपछि हानिए जनकपुर चुरोट कारखाना । उनलाई पत्ता लगाउनु थियो, एकदिनमा कति चुरोट उत्पादन हुन्छ भन्ने ।
जनकपुर चुरोट कारखानाले तत्कालिन अवस्थामा दिनमा ५ करोड खिल्ली चुरोट उत्पादन गर्दाेरहेछ । उनले हिसाब लगाए, एक खिल्लीमा  १ पैसा शुल्क लिँदा दिनमा कति उठ्छ ? वर्षमा १८ देखि २० करोड उठ्ने हिसाब निकाले । त्यसपछि उनले मनमनै भने, ‘यति दामले अस्पताल बन्छ ।’

यसरी लागू भयो उनको उपाय

स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला चुरोटका अम्मली थिए । चुरोट खाने पाइप बोकेर हिँड्थे र सार्वजनिक स्थलमै पनि खाइदिन्थे ।  जतिबेला कर्ण शाक्यले एक खिल्ली चुरोटबाट १ पैसा उठाएर अस्पताल बनाउने उपाय पत्ता लगाएका थिए, त्यो समय गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री थिए । चीन सरकारले भ्रमणका लागि निम्तो दिएको अवस्था पनि थियो । यही बेला शाक्यले मौका छोपे, ‘तपाईंको दाई (विपि कोइराला) क्यान्सरबाटै बित्नुभयो । परिवार गुमाउनेलाई थाहा हुन्छ क्यान्सरको पीडा ।  त्यसैले तपाईंले मेरो कुरा महसुस गर्न सक्नुहुन्छ । नेपालमै क्यान्सर अस्पताल बनाउने मेरो योजना छ । यसका लागि बजेट चुरोटबाटै उठाउन सकिन्छ । चीन सरकारसँग उपकरण माग्नुप¥यो ।’ कोइरालालाई उनको उपाय चित्त बुझ्यो । चीन गएर शाक्यले सुझाए अनुसारै गरे । त्यसपछि बन्यो नेपालमा पहिलोपल्ट क्यान्सरको उपचार गर्ने  अस्पताल ।

गिरिजालाई चुरोट छोडाउँदा

क्यान्सर अस्पताल बनाउने शाक्यको सोचलाई मुर्त रुप दिएका कोइराला आफैँले भने चुरोट छाडेनन् । उनी सार्वजनिक कार्यक्रममा पनि उसैगरी खान्थे । एकपल्ट रसियन क्लचर सेन्टरमा कार्यक्रम थियो । अतिथिमा कोइराला पनि थिए । चुरोट उसैगरी लिइरहे ।

कार्यक्रममा सहभागी भएका शाक्यले मुख फोरे, ‘क्यान्सर अस्पताल बनाउन यत्रो दुःख गर्नुभयो । हजुरले पनि चुरोट छाड्नुभए राम्रो हुन्थ्यो ।’ उपस्थित अरु सहभागीले पनि यसैमा जोडबल गरे । त्यसपछि कोइरालाले सार्वजनिक रुपमै चुरोट छाडेको घोषणा गरिदिए ।

साँच्चै छाडे त कोइरालाले ? शाक्य भन्छन्, ‘हाम्राअघि कहिल्यै चुरोट लिएनन् । सार्वजनिक ठाउँ र कार्यक्रममा पनि देखिएन । तर, उनीकहाँ काम गर्नेले घरमा कहिलेकाहीँ लिनुहुन्छ भन्थे ।’

महंगो चुरोट रातभरि माड्दा

शाक्य आफैँ पनि चुरोटका अम्मली थिए । एक समय दिनको डेढ प्याकेट त उनका लागि मामुली थियो । उनले चुरोट ‘आजदेखि खान्नँ’ भनेर चटक्कै छाडेका होइनन् । ‘कसैले त्यसरी छाड्न खोज्छ भने ठान्नु, उसले कहिल्यै छाड्दैन,’ उनी भन्छन् । छाड्ने दिनलाई एउटा इभेन्ट बनाइदिए उनले ।
त्यतिबेला उनी आफ्नी श्रीमतीको क्यान्सरको उपचारकै लागि हङकङ पुगेका थिए । क्यान्सरग्रस्त उनकी श्रीमतीले आग्रह गरेकी थिइन्, ‘मलाई क्यान्सर भइसक्यो । चुरोटले तपाईंलाई पनि गराउँछ । छाडिदिनु ।’

त्यसैले उनले त्यो रात हङकङमै सबभन्दा महंगो पर्ने चुरोट दुई कार्टुन किनेर ल्याए । हरेक खिल्ली माडेर रातभरि ढुटो बनाए । उनी सम्झिन्छन्, ‘चुरोट माड्दै गर्दा त्यसप्रति नकारात्मक सोच सिर्जना गरिरहेको थिएँ । तलतल मारिरहेको थिएँ  ।’

त्यसपछि उनले चुरोट देख्दा त्यही घटना सम्झिन्छन् । फेरि पिउने कुरो त दिमागबाट त्यही रात हरायो ।

‘चुरोटे’ माथि छुवाछुत

कुनै समय नेपालमा जातीय छुवाछुत निकै थियो । चेतना बढ्दै गएका कारण पछिल्लो समय त्यो बिस्तारै हट्दै गएको छ । स्वस्थ समाज निर्माणका लागि यो जरुरी पनि छ । तर, अब चुरोटे (चुरोट पिउने) माथि छुवाछुत हुन लागेको शाक्यले रमाइलो तरिकाले बताए । उनले भने, ‘त्यो कर्नरमा जानुस्, यहाँ खानै पाइदैन, बाहिर जानुस् । चुरोट खाने ठाउँ त्यहाँ हो । चुरोट खाने हो भने यहाँ नबस्नुस् भन्नु भनेको छुवाछुतै हो ।’

उनका अनुसार त्यसैले अब त्यस्ता ‘चुरोटे’ ले निर्णय गर्नुपर्ने भएको छ, ‘चुरोट आएर अछुत हुने कि नखाएर सामाजिक व्यक्ति ।’

चुरोट खाने व्यक्ति अहिले समाजबाट किनारा लाग्दै गएको छ र चाँडै दुनियाँबाटै किनारा लाग्ने पनि निश्चित छ । किनभने क्यान्सरको कारण हो त्यो । शाक्य सबैलाई सुझाउछन्, ‘सकिन्छ आजै त्यागौं । किन सहने अहिलेको विभेद, किन भोग्ने भविष्यमा पीडा ।’

– See more at: http://swasthyakhabar.com/2016/05/49207.html#sthash.rcs4Oh7I.dpuf

प्रकाशित मिति:२०७३ जेठ १८ गते

Do NOT follow this link or you will be banned from the site!