काठमाडौमा कुरुलेतेनुपासम्बन्धी फोटो कथा प्रदर्शनी

  • नाेदनाथ त्रिताल, काठमाडाै

जलवायु परिवर्तनका कथाहरु शीर्षकको फोटो प्रदर्शनमा धनकुटा जिल्लाको कुरुले तेनुपा गाविसको फोटोकथा समावेश भएको पाइएकोछ ।
इसिमोडको सहकार्यमा फोटो डट सर्कल, काठमाडौले जलवायु परिवर्तनका कथाहरु शीर्षकमा त्रिभुवन विश्वविद्यालय परिसर, कीर्तिपुरमा धनकुटा र सिन्धुपाल्चोक जिल्लाको जलवायु परिवर्तनसम्बन्धी फोटोकथा प्रदर्शनी गरेको हो ।
यहि २०७३ जेठ ९ गते आइतवार कीर्तिपुरमा राखिएको प्रदर्शनीमा धनकुटा जिल्लाको कुरुले तेनुपा गाविसका विभिन्न वडाहरुको जलवायु परिवर्तनका असरहरुलाई समेटेर तयार पारिएका फोटोहरु प्रदर्शनीमा राखिएका थिए । विश्वको तापमान बढ्ने क्रम चलिरहँदा विभिन्न कारणले जलवायु परिवर्तन भई गाउँमा परेको असरबारे फोटो कथाले चित्रित गर्ने प्रयत्न गरेको मुख्य आयोजक फोटो डट सर्कलका भुषण सिल्पकारले जानकारी दिनुभयो ।


कुरुले तेनुपा
  • किशोर शर्मा 
समुद्री सतहबाट ७३० देखि १५०० मिटर सम्मको उचाईमा फैलिएको गाविस कुरुले तेनुपामा करिब १८ किमि टाढाबाट पाइप बिछ्याएर खानेपानी ल्याइएको छ । जीर्ण बन्दै गएको यस खानेपानी योजनाले हाल मुस्किलले आधा गाविसको मागलाई धानेको छ ।
गाविसको माथिल्लो भेगमा पर्ने बन्दुके डाँडाका तामाङ समुदाय र तल्लो भेग भैँसेटारका माझी समुदाय तथा फलामेटारका दलित समुदायलाई यस आयोजनाले समेट्न नसकेकाले फलामेटारका दलित परिवारको दैनिकी झनै कष्टकर भएको छ । 
“बिहान ३ बजे कुवामा पुगेन भने १ गाग्रो भर्न पनि घन्टौ लाग्छ । एउटा कुवा छ, त्यहि पनि सुक्नै लागेको छ,” फलामेटारका बुद्धिमान विश्वकर्मा भन्छन् । 
नजिकै तमोर खोला भए पनि पानी तान्ने कुनै उपाय नहँुदा सिंगो बस्तीले नै खोलाबाट पानी बोकेर खाने गरेको छ । खानेपानी तथा बस्तुलाई खुवाउने पानी बोक्दैमा अधिकांशको दिन जाने गरेको छ ।
“एक खेप गर्न १५—२० मिनेट लाग्छ । दिनको कम्तिमा पनि ८—१० खेप पानी नबोकी हुन्न,” सोम माया माझी भन्छिन् ।
२०७० सालमा लगभग ८० घर, २०७१ सालमा ७४ घर र २०७२ सालको मध्य सम्ममा ३८ घरधुरी यहाँबाट बसाईं सरेको तथ्याड्ढ गाविस कार्यालयसँग रहेको छ । वैदेशिक रोजगारीले आर्थिक अवस्थामा आएको सुधारले पनि मानिस सुगम स्थानतिर सरेका हुन् । तर यसरी अत्याधिक रुपमा बसाईं सराइ हुनुको प्रमुख कारण खानेपानी कै समस्या हो भन्नेमा यहाँका बासिन्दा एकमत छन् ।
“पहिले यहि गाउँमा २०—२५ घर थिए । अहिले हामी ३ घर मात्रै छौँ ∕ अप्ठेरो हुँदाहुँदै पनि जन्मेको ठाउँ हुनाले बसीरहेका छौँ,” अँधेरीका भोलानाथ चापागाईं भन्छन् । बस्न पनि नसकिने र बिक्दा पनि नबिक्ने भएकोले यसरी छाडेर जाने गरेको उनी बताउँछन् ।
यसरी गाउँनै खाली भैरहेकोमा गाउँले चिन्तित देखिन्छन् भने खानेपानी सहज हुने हो भने फर्केर पनि आउलान् भन्ने आशा पनि गर्छन् ।
“कुनै योजना भएर पानी आएदेखि मानिस यो ठाउँमा फिरेर आउँथे कि जस्तो लाग्छ,” पदम प्रसाद भन्छन् ।

अनुसन्धानकर्ता किशोर शर्माले तयार पार्नुभएको सो फोटो कथालाई फोटो डट सर्कलले प्रदर्शनी गरिरहेको र जेठ १० गते काठमाडौ विश्वविद्यालय अन्तरगतको कला विद्यालय, हात्तीवनमा पनि प्रदर्शनी गरिएको उहाँले बताउनु भयो ।
कुरुले तेनुपा गाविसको जस्तै जलवायु परिवर्तनको असरबारे सिन्धुपाल्चोक जिल्लाको मानेखर्क, हिलेभञ्ज्याङ्ग, पाँचपोखरी तथा स्याउले लगायत क्षेत्रको स्थानीय अवस्था झल्कने फोटोहरु समेत गन्तव्यहिन: नेपाली मध्यपहाडका फिरन्तेहरु शीर्षकमा सो प्रदर्शनीमा समावेश गरिएको छ ।


गन्तव्यहिन: नेपाली मध्यपहाडका फिरन्तेहरु
नरेन्द्र मैनाली
नेपाली मध्यपहाडी क्षेत्रमा भेटिने फिरन्ते जीवनशैली खेतीपातीको सम्भावना नरहेका उचाइमा अत्यन्तै कठोर र चिसो वातावरणसँग अनुकुलनको उपज हो । शताब्दियौँ अघिदेखि चरुवाहरुले एक चलायमान र दिगो जीवनशैलीलाई निरन्तरता दिँदै आएकाछन् । उनीहरु हरेक ऋतुकालागि फरक फरक खर्कबीच बसाईं सर्छन् । घाँसेमैदानका श्रोत वर्षभरिमा एकैप्रकार पायक वा उपलब्ध हुँदैनन् भने त्यसको सहजता र उपलब्धता पनि ऋतुसँगै बदलिन्छन् । त्यसैले फिरन्ते चरुवाहरु निरन्तर
आना बस्तुभाउलाई एउटा खर्कबाट अर्को खर्कमा सारीरहन्छन् । प्रायः पिछडीएको र आदिम प्रणाली मानिएपनि फिरन्ते संस्कृति वास्तवमा एक अत्यन्तै परिष्कृत अनुकुलन रणनीति हो । यो कृषिनिर्भर तथा शहरी समाजको अचल संस्कृतिको दाँजोमा एक अद्वितीय विकल्प हो ।
अध्ययनहरुले देखाए अनुसार नेपाली मध्यपहाडजस्तो जटिल भूसतह भएको क्षेत्रका माथिल्ला भेगहरुमा जलवायु परिवर्तनको प्रभाव झनै गम्भीर हुँदैछ । बढ्दो तापमान तथा वर्षाको स्वरुपमा आएको परिवर्तनले यस क्षेत्रको पर्यावरण तथा जनसंख्या, र विशेषगरि यस क्षेत्रका फिरन्ते चरुवाहरुमाथि अत्यन्तै गम्भीर प्रभाव पारिरहेका छन् ।
वर्षाको स्वरुप परिवर्तन आउनु जलवायु परिवर्तनको नतिजा हो, तर यस्ता प्रभाव खानेपानी तथा खाद्यान्नको अभावको रुपमा प्रतक्ष्य प्रकट हुन महिनौँ अथवा वर्षौँ लाग्नसक्छ । नेपाली मध्यपहाडी क्षेत्रको पर्यावरण वर्षाको स्वरुपमा बढ्दै आएको अनियमितताका कारण नकारात्मकरुपमा प्रभावित छ । रसुवा र सिन्धुपाल्चोकका मध्यपहाडी क्षेत्रका फिरन्ते चरुवाहरुको जीवनशैली बढ्दो जोखिममा छ । सिन्धुपाल्चोकका चरुवाहरुले पछिल्ला १५ वर्षमा वर्षा अत्यन्तै अनियमित हुँदै गएको तथा सुख्खा र खडेरी बढेर गएको प्रत्यक्ष अनुभव गरेका छन् । पहाडी क्षेत्रमा कृषिजन्य गतिविधिमा आएको ह्रास र वर्षाको अनियमितताका कारण फिरन्ते चरुवाहरु आयातित खाद्यान्नमा निर्भर हुन बाध्य छन् र बिस्तारै विश्वव्यापी बजारको छायाँमा पर्न थालेका छन् ।
युगौँ पुरानो सन्तुलन अहिले धरापमा छ । बाढी, खडेरी, सुख्खा र वनडढेलोबाट फिरन्ते चरुवाहरुको जीवनशैली र जीवन गम्भीर जोखिममा छ । कोहि शहरतर्फ बसाईं सरेर गएका छन् भने धेरै जसोले आनो युगौँ पुरानो पर्यावरणीय अनुकुलनलाई चटक्कै छोडेर जान सकेका छैनन् । एकातिर द्रुतगतिमा विघटित हुँदै गरेको जीवनशैली र अर्कातिर अनिश्चित भविष्यको सामना 
गरिरहेका यी फिरन्ते चरुवाहरु गन्तव्यहिन बनिरहेका छन् ।

सन् २०१६ को विश्व वातावरण दिवस जुन ५ तारिख आउनै लाग्दा जलवायु परिवर्तनको असरबारे सुसुचित गराउने अभिप्रायले प्रदर्शनी गरिएको सिल्पकारले बताउनु भयो । जुन ५ सम्ममा सम्बन्धित गाविसमा समेत प्रदर्शनी पुर्याइने जानकारी उनले दिए । अमेरिकामा रहनुभएका रोहित गोयलले कुरुले तेनुपाको खानेपानी लगायत जलवायु परिवर्तनका असरहरुबारे अध्ययन गर्न सिकाई थलोहरु निर्माण गर्ने अभियान कुरुले तेनुपामा सञ्चालन गरिरहेका छन् । उनले सिकाई थलोमार्फत नमूना कृषि कार्यक्रम सञ्चालन गर्न गरी कुरुलेतेनुपा पर्माकल्चर केन्द्र निर्माण गरी कम्पनी दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जनहित असल शासन क्लबका अध्यक्ष भोजकुमार काफ्लेले बताए । यस अघि कुरुले तेनुपा ५ का कृषक लोकेन्द्र याखालाई काभ्रेपलाञ्चोक जिल्लामा दुई साता लामो तालिम कार्यक्रममा सहभागी गराइएको पनि उनले बताए । यो अभियान संगसंगै किशोर शर्माले समेत यो अनुसन्धान गरी फोटो कथा तयार पारेका छन् । जसले कुरुले तेनुपाको पहिचान र समस्या उजागर गरेको छ ।


प्रदर्शनीका कुरुले तेनुपासम्बन्धी मुख्य आकर्शणहरु ः
किशोर शर्माद्धारा प्रस्तुत जम्मा १५ वटा फोटोहरु समावेश
कुरुले तेनुपाको परिचय
बन्दुकेडाँडास्थित पोखरी र पानीट्याँकीको चित्र
बसाईं सराईको प्रभावको चित्रहरु
बस्ती खाली भएको, खानेपानीको मुहान सुकेको दृष्यहरु
अल्पसंख्यक माझी समुदायको रहनसहन र खानेपानी समस्याको चित्रण
कुरुले तेनुपाको मुख्य समस्याहरु झल्कने


कुरुले तेनुपा जन्मथलो भई हाल काठमाडौ कार्यक्षेत्र रहेका करिब १५० भन्दा बढि कुरुले तेनुपाबासीहरुले समन्वय र सहकार्य भएको भए आफुहरु समेत अवलोकनमा सहभागी हुनसक्ने भन्दै काठमाडौमा गुनासो गरेका छन् । साथै कुरुले तेनुपाली सोसाइटी फेसबुक पेजमा फोटो प्रदर्शनीको चित्रहरु पोष्ट भएपछि आफ्नो जन्मभुमि कुरुले तेनुपाको समस्या समाधानका लागि केहि गर्नुपर्ने अवस्था भएमा सहयोग गर्न तयार रहेको अभिव्यक्तिहरु समेत आइरहेका छन् । काठमाडौ तथा देश विदेशमा रहनुहुने पाँच दर्जन कुरुले तेनुपालीहरुले सो पेजमार्फत प्रदर्शनीबारे जानकारी लिइसकेका छन् । जनहित असल शासन क्लबका कार्यकारी निर्देशक नोदनाथ त्रितालले भने कीर्तिपुरमा सो प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरी कुरुले तेनुपाको जलवायु समस्यालाई महत्वका साथ अध्ययन गरी प्रदर्शनी गरिदिनुहुने आयोजकलाई धन्यवाद दिएका थिए ।

हेर्नुहाेस् फाेटाे प्रदर्शनीका केहि झलकहरु

20160522_101800 20160522_101857 20160522_101917 20160522_102225 20160522_102310 20160522_102322 20160522_102407 20160522_102421 20160522_102448
20160522_102834 20160522_102850
20160522_102930 20160522_103712 20160522_103716 20160522_103724 20160522_103735 20160522_103752 20160522_103806 20160522_103820 20160522_103838 20160522_103841 20160522_103852 20160522_103856

Do NOT follow this link or you will be banned from the site!