गाविसको परिचय

कुरुले तेनुपा गाउँ विकास समितिको सामान्य परिचय :

कुनै पनि ठाऊँको धरातलीय स्वरुपमा प्रस्तुत गरिने कार्य पाश्र्वचित्रले गर्दछ । यसरी हेर्दा यसको उपयोग आजको समयमा आवश्यक भएको पाइन्छ । कुनै पनि गाऊँ ठाऊँ अथवा देशकै समग्र भौगोलिक, सामाजिक, आर्थिक तथा पारिवारीक अवस्थितिको चिरफार गरी हचुवाको भरमा नपरी सत्यतथ्यको आधारमा सार्वजनिक रुपमा प्रस्तुत गरिनु यसको उद्धेश्य रहन्छ । नेपाली बृहत शब्दकोषको पृष्ठसंख्या ७७० मा पाश्र्वचित्रलाई शाब्दिक अर्थमा यसरी प्रष्ट्याएको पाइन्छ ः ‘पाश्र्वचित्र. ना. धरातलीय स्वरुप देखाउने चित्र (ल्याण्डस्केप) ।

त्यसैगरी Vargab Dictionary ले Aside view of an object / Oxford Dictionary ले पनि Profile-Edge or outline of something seen against a background, brief biography of somebody or description of something in a newspaper article, broadcast programme etc.) भनेर आफ्नो शब्दार्थ प्रस्तुत गरेको छ । slider4
यसबाट पनि हामी के प्रष्ट हुन्छौं भने पाश्र्वचित्रले निर्धारण गरेको स्थान वा वस्तुको स्वरुप सफा ऐनामा आफ्नो अनुहार हेरेझैं छर्लङ्ग देख्न सकिन्छ, देख्न सक्नुपर्दछ । यदि त्यसो भएन भने पाश्र्वचित्रको औचित्य रहँदैन । यसकारण पाश्र्वचित्र कुनै पनि स्थान वा अवस्थाको सजीवन चित्र हो । प्रस्तुत पाश्र्वचित्र श्री कुरुले तेनुपा गाविसको धरातलीय स्वरुप, सामाजिक अवस्था, आर्थिक स्थिति, शैक्षिक अवस्था आदिको चित्रण गर्ने जमर्को गरिएको छ । यसमा अनुसन्धानका सबै कार्यहरू सामान्यतया अन्तिम रुप दिई प्रस्तुत गरिएको छ ।
मध्य पहाडी जिल्ला धनकुटाको पुर्वमा अवस्थित कुरुले तेनुपा गाविस सदरमुकाम धनकुटा बाट ११ कोष दुरीमा पर्दछ । समुद्र सतहबाट १५०० मिटर सम्मको उचाई रहेको यस गाविसको हावा पानी समषितोष्ण प्रकारको छ । पूर्वमा पाँचथर जिल्ला, उत्तरमा तेह्रथुम जिल्ला, पश्चिममा धनकुटा जिल्ला र दक्षिणमा धनकुटा जिल्लाकै बोधे, वसन्तटार र मुढेवास गाविससँग सिमाना जोडिएको यो गाविस धनकुटा जिल्लाका ३५ वटा गाविसहरू मध्ये सबै भन्दा विकट मानिन्छ । भौगोलिक विकटता र सदरमुकामबाट टाढा रहनु नै यसको प्रमुख समस्या रहेको छ । कुल ५१४८ जनसख्या रहेको यो गाविसका अधिकांश वासिन्दाहरूको प्रमुख आय स्रोत कृषि व्यवसाय नै हो । तीन तर्फ नदी तथा खोलाहरूले घेरिएको यो गाउँलाई लेकसँग जोडिएको डाँडाले वीचमा भञ्ज्याङ बनाई छिन्नाएर गएको हुदाँ पानीका श्रोतहरू देखि लिएर कृषि उत्पादन समेतमा गम्भीर नकारात्मक असर परेको देखिन्छ । गोलकार टाकुराको रुपमा अवस्थित यस गाविसमा बस्ने आम नागरिकहरू निक्कै जटिल र कष्टकर जीवन निर्वाह गर्न वाध्य छन् ।
कुरुले तेनुपा गाविस सदरमुकाम गढिगाऊँबाट हेर्दा पुर्वमा नावा खोला, पश्चिममा जरुवा–छरुवा खोला, उत्तरमा तमोर नदी, दक्षिणमा ठूलीभञ्ज्याङ्ग सिमाना रहेको पाइन्छ ।यस्तो भौगोलिक अवस्थितिमा रहेको यस गाविसको विविध अवस्थालाई छोटकरीमा बुँदागत रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ः

शैक्षिक स्थिति :
यस गाविसको शैक्षिक स्थितिलाई केलाउँदा सकारात्मक र मजबुद पाइन्छ । कुरुलेका बराल पण्डितहरूको नाम राष्ट्रमै चर्चित नाम हो । यस गाविसमा बसोबास गर्ने मानिसहरूको शैक्षिक अवस्था राम्रो रहेको र स्वदेश तथा विदेशमा समेत आफ्नो पहिचान प्रदर्शन गर्न सफल छन् । भौगोलिक विकटताले भरिएको, यातायात, सञ्चार आदिको उचित व्यवस्था हुन नसकेको, सदरमुकामबाट टाढा रहेको जस्ता अवस्थाहरूको बाबजुद पनि यस गाविसले अभुतपुर्व उपलब्धी हाषिल गरेकै छ । प्रत्येक वडाहरूमा एक एक विद्यालयहरू रहेका छन् भने वडा नं. १ मा ३ वटा सम्म विद्यालयहरू स्थापना भई सञ्चालनमा आएका छन् ।
एक त मोफसल, त्यसमा पनि गाविस, त्यति मात्र नभएर सदरमुकामको दुरवर्ती गाऊँमा एउटै गाविसमा १२ वटा विद्यालयहरू हुनु स्वयम्मा गौरवको कुरा हो । कुरुले तेनुपा उच्च मावि हाल गाविसको वडा नं. २ गढिगाऊँमा रहेको भएता पनि यसको स्थापना वि. सं. २०११ साला रामनवमीमा भएको र वि.सं २०१९ सालमा गढिगाऊँमा स्थानान्तरण गरी श्री रामचन्द्र राष्ट्रिय प्राथमिक स्कुल नामाकरण भएको थियो । पछि यसको नाम निमावि बनाईयो र मावि हुँदै हाल उच्च माविसम्म पुग्न सफल भएको पाइन्छ जुन अत्यन्त उपलब्धीमुलक र सराहनीय पक्ष रहेको छ ।
यसरी यस गाविसको शैक्षिक स्थिति हेर्दा निक्कै राम्रो पाइएता पनि पुर्ण रुपमा फड्को मार्ने कुरा अझै पुरा भएको छैन । विकासका चरणहरू पार गर्दै जाँदा भोलिका दिनमा गाविसले अझै धेरै फड्को मार्नु पर्दछ र मार्नेछ पनि ।

आर्थिक स्थिति :
समन्द्र सतहदेखि १५०० मिटरको उचाइमा रहेको यो गाविस पहाडी जिल्लाको पहाडी भुभाग अविकसित गाविस पनि हो । नावा, जरुवा, छरुवा खोला तथा तमोर नदीको वेष्ठन भएको तर सुख्खा भुभाग रहेको यस गाविसमा खानेपानीको समेत समस्या देखिनु दुःखको कुरा हो । आर्थिक विकासको मेरुदण्ड सिँचाईं व्यवस्था पनि हो तर यस गाविसमा त्यस्तो कुनै स्रोत र साधन छैन, जसले सिँचाई सुविधा प्राप्त होस् । यहाँका डिहिटार, भैसेटार, फलामेटार जस्ता क्षेत्रहरूमा केही खेतीयोग्य जमिन भएता पनि अन्य भुभाग पुर्णरुपमा सुख्खा क्षेत्र रहेको छ । आर्थिक उन्नति गर्न यहाँ नगदेबाली लगाउने कुनै व्यवस्था छैन । हाल केहि कृषकहरूले अदुवा खेती गरी झिनो आयआर्जन गर्ने गरेका छन् । लगभग समग्र राष्ट्रकै आर्थिक स्थितिलाई परिचालन गर्न वैदेशिक रोजगारी जिम्मेवार भएजस्तै यस गाविसका केही युवाशक्ति सोही कार्यमा सरिक भई आयआर्जन गर्दछन् भने यातायातको पनि पर्याप्त सुविधा छैन । विद्युत शक्ति आर्थिक उन्ततिको आधार भएको तर सोको व्यवस्था हुन नसकेबाट उज्यालो बाल्ने सम्म मात्र कार्य पनि विद्युतबाट चल्न सकेको छैन । गाऊँका गरिब जनताहरूको घरघरमा शौर्य उर्जाको प्रयोग गरी उज्यालो र दुरदर्शनको सामान्य उपयोग गर्ने गरेका छन् । नगदेबालीका स्रोतहरू दुध, अन्न, फलफुल, तरकारीबाली, बेमौसमी तरकारी बाली इत्यादीको उत्पादन छैन, भएको उत्पादनको बजार व्यवस्था हुन झनै सकेको पाइन्दैन ।यसरी हेर्दा यहाँको आर्थिक स्थिति दयनीय नै देखिन्छ ।

विकासका पुर्वाधारहरू :
शिक्षा, स्वास्थ्य, सुरक्षा, सडक, बत्ती, पानी, सञ्चार आदि मानिन्छन् । यस गाविसमा उपयुक्त सुविधा केही पनि देख्न सकिएको छैन । संस्थागत रुपमा एउटा स्वास्थ्य चौकीमात्र रहनु यस भेगका जनतालाई स्वास्थ्य सुविधाको व्यवस्था भएको मान्न सकिन्दैन भने शिक्षाको विकास बाहेक अन्य कुरामा उन्नती भएको देखिन्दैन । सुरक्षाका अंगहरूकको उपस्थिति नहुनु, सडकको व्यवस्था नहुनु, विद्युतीय, स्रोतको अभाव जस्ता कारणले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संंस्थाहरूले लगानी गर्ने चाहना राख्दैनन् तथा चाहना गरेपनि उपयुक्त स्रोतका अभावमा लगानी गर्न नसक्ने भएकाले विकासका कार्यहरू पछि परेका छन् । ‘घरघरमा टेलिभिजन, हातहातमा मोवाईल’ भन्ने नाराले सञ्चारका क्षेत्रमा भने केहि राहत पु¥याएको छ, व्यक्तिगत प्रयासमा ।
यसरी कुरुले तेनुपा गाविसको समग्र रुपरेखा हेर्दा यस गाविसका विविध अवस्था देख्न सकिन्छ । समग्रमा के भन्न सकिन्छ भने नेपालको पुर्वी पहाडी जिल्ला धनकुटाको सदरमुकामको सदुर पुर्वमा रहेको, भौगोलिक अवस्थामा दुर्गम ठानीएको, विकासका लहरहरूले छुन बाँकी रहेको, सिर्जनशील र मेहनती जनताको बस्ती भएको, विकासका पुर्वाधारहरूबाट ठगिएको, आर्थिक उन्नतिमा पछि परेको जस्ता कठिनाईका कठघरामा उभिएर संघर्ष गर्दै आएको गाविस हो यो । यसो भन्दा विकास नभएको चै भन्न सकिन्न किनभने यहाँका जनताका लगानी र प्रयासमा एक उच्च मावि दुई निमावि र दश वटा प्रावि सञ्चालनमा रहनाले पनि यसको विकासको प्रयास बुझ्न सकिन्छ । वास्तवमा शिक्षा नै विकासको मेरुदण्ड, विकासको पुर्वाधार जस्ता नारा अलाप्ने राज्य व्यवस्थाले पनि यस ठाऊँका जनताहरको प्रयासको भवनमा इँटा, ढुँगा थप्नुपर्ने देखिन्छ ।
यस गाविसको यो पाश्र्वचित्रले गाविसको समग्र अवस्था संक्षेपले नै भए पनि प्रष्ट पार्ने प्रयास गरिएको छ । शैक्षिक विकास एवं आर्थिक उन्नतीमा लागेका जनताहरूमा राज्यको तर्फबाट समेत दृष्टि पुग्ने आशा यस पाश्र्वचित्रले राखेको छ । ग्रामिण एवम् ग्रामबासी जनताको चेतना विकास, शैक्षिक उन्नती, विकासप्रतिको चाहना र लगनशीलता, आर्थिक उन्नतिका प्रयासहरू, भाइचाराको हार्दिकता, मानवीय मुख्य र मान्यताको उपयोग, सामाजिक कार्यमा कार्यगत एकता, सरकारी स्तरमा समेत सहयोगको अपेक्षा, जनमानसमा उर्लेको शैक्षिक लहर आदिले यस गाविसलाई उन्नतीको बाटोमा लम्काउने नै छ भन्ने अपेक्षा गरांै ।
अधिकांश नागरिक कृषक भएको यस गाउँमा नगन्य ब्यक्तिहरूले सरकारी नोकरीको अवसर पाएका छन् । कृषि नै प्रमुख आय आर्जनको स्रोत भएता पनि कृषि योग्य जमिनको कमि, सिचाइको असुविधा, अबैज्ञनिक एवं परम्परागत कृषि प्रणालीको अवलम्बन, उत्पादित बस्तुहरूको उचित बजार ब्यवस्थापनको कमी एवं निकासी प्रबद्र्धन हुन नसक्दा उत्पादित पदार्थहरूले उचित मुल्य पाउन सकिरहेको छैनन् । जसका कारण आम कुरुले तेनुपावासीको जीवनस्तर दयनीय नै रहेको छ । यस गाविसमा एक मा.वि, दुई वटा प्रस्तावित नि.मा.वि र ९ वटा प्रा.वि. रहेका छन् । यो गाविस धनकुटा जिल्लाकै शिक्षित गाविसको रुपमा मानिन्छ तथापि हाल शिक्षाको गुणस्तरमा सन्तोषजनक प्रगति भएको देखिन्दैन ।
पछिल्लो समयमा मुलतः ने.क.पा एमाले, नेपाली काग्रेस र नेकपा माओवादीको सकृयता रहेका कूरुले तेनुपा गाविसमा गाऊँवासीको राजनैतिक चेतना र सकृयता राम्रै छ । उल्लेखित जनजातीहरूको वसोवास रहेको यस गाविसमा सबै जनजाती वीच सामाजिक सद्भाव रहेको छ । विकासको पूर्वाधारका रुपमा रहेको सडक विजुली जस्ता आधारभुत कुराहरूबाट बन्चित भएका आम कुरुलेवासीहरूले संञ्चार, स्वास्थ्य जस्ता आधारभुत आवश्यकताहरू पनि राम्रोसँग उपयोग गर्न सकिरहेका छैनन् ।
शिक्षित जनजाती रोजगारको तथा अवसरको खोजीमा शहर पस्ने, अर्धशिक्षित एवं अशिक्षित युवा शक्ति रोजगारको लागि विदेशिने, आर्थिक रुपले सवल परिवार बसाई सर्ने क्रम तीब्र रुपमा भएकाले हाल कुरुले तेनुपा विपन्न बुढाबुढी महिला, अशक्त र केटाकेटीको वस्तीको रुपमा परिणत भइरहेको छ ।

कुरुले तेनुपा गाविसको भौगोलिक अवस्थिति :
कुरुले तेनुपा गाऊँ विकास समिति धनकुटा जिल्लाको पूर्वमा अवस्थित एउटा सुन्दर र रमणीय गाऊँ हो । कुरुले तेनुपा धनकुटा जिल्लाको पाँचथर जिल्लासंग सिमाना जोडिएको पुर्व दक्षिण भेगमा रहेको गाविस हो । यो गाविसमा कुल आवादी क्षेत्रफल १८७१.४० हेक्टर रहेको छ भने झण्डै गोलाकार जस्तो देखिने गाऊँ विकास समितिको नक्सा रहेको छ । यो गाविस २६० ५४’ ४०” देखि २६० ५९’ १५” उत्तरी अक्षाँश र ८७०२६’ ३०” देखि ८७०३१’४५” पूर्वी देशान्तरमा अवस्थित छ । समुन्द्रको सतहबाट ७३० मिटर देखि १५०० मिटरसम्मको उचाईमा रहेको यस गाविसको सबैभन्दा उच्च स्थान वडा नं. ५ को पोखरी डाँडा हो भने सबैभन्दा कम उचाई भएको स्थान वडा नं. १ को तमोर नदी किनार हो । गाविसको कार्यालय रहेको वडा नं. २ को गढिगाऊँ १४०० मिटर उचाईमा रहेको छ । अधिकाँश भुभाग भिरालो रहेको यो गाविसको वडानं. १ मा समथर बेंसी, पाखा पखेरा, ढुँगा समेत रहेका छन् । भौगोलिक विविधताका कारण हावापानी पनि विविधता रहेको पाइन्छ । तमोर नदिको बेंसी, नयाँ खोला, छरुवा खोला, जरुवा खोला लगायतको बेंसी क्षेत्रमा निकै तातो जलवायु छ भने गाविसको मुख्य डाँडाहरूमा केहि उचाईको कारण हावापानी मध्यम खालको रहेको छ । गाविसको पुर्वी दक्षिणी सिमानामा ठुलो भञ्ज्याङ्ग रहेकोले उक्त भञ्ज्याङ्गको कारण हावापानीमा विविधता आएको देखिन्छ । डाँडा र उच्च स्थानमा रहेको कारण खानेपानीको स्रोतको अभावमा अधिकाँश वडाहरू सुख्खा छन् र खानेपानीको समस्याले ग्रस्त रहेका छन् ।

भू–बनोटको समान्य परिचय :
यस गाविसको पुर्वमा पाँचथर जिल्लाको दुर्दिम्बा गाविस पर्दछ भने पश्चिममा धनकुटा जिल्लाकै बोधे गाविस पर्दछ । उत्तरमा तमोर नदीले तेह्रथुम जिल्लालाई छुट्याएको छ भने उत्तर पश्चिममा पाँचथर जिल्लाको मौवा गाविसलाई नयाँ खोलाले सिमाना जोडेको छ । त्यस्तै दक्षिणतर्फ धनकुटा जिल्लाको वसन्तटार र मुढेवास गाविसहरू छिमेकी गाविसको रुपमा रहेका छन् । वास्तविक गाऊँ विकास समितिको भौगोलिक धरातल भनेको एउटा डाँडाको रुपमा रहेको छ जहाँ केहि भाग दक्षिणबाट उत्तरतर्फ फर्केको, केही भाग उत्तरबाट दक्षिणतर्फ फर्केको छ भने केही भाग पुर्वबाट पश्चिमतर्फ फर्केको पनि रहेको छ । छिमेकी मुढेवास गाविससंग डाँडा काटिएको भञ्ज्याङ्गले साँधसिमाना छुट्याएको छ भने जरुवा खोलाले वसन्तटार गाविससंगको साँध सिमाना निर्धारण गरेको छ । त्यस्तै छरुवा खोलाले बोधे गाविससंगको सिमाना छुट्याएको छ भने नवा खोला र नम्फुवा खोलाले पाँचथरसंगको साँध सिमाना छुट्याइदिएको छ ।
यस गाविसको माटो रातो चिम्ट्याइलो खालको रहेको छ । डाडाले घेरिएको यो गाविसमा चट्टानयुक्त भीरपाखाहरू रहेका छन् भने फुस्रो माटो र कमेरे माटो पनि पाइन्छ । गेग्रेन, ढाँढ, कडा रातोमाटो, बलौटे माटो, हलुका कालो माटो भएको भुभाग पनि विभिन्न वडाहरूमा रहेको पाइन्छ ।
यस गाविसका अधिकाँश जंगलहरूमा पाईने वनस्पतीहरू हावापानीको विविधताका कारण विविध खालका नै रहेका छन् । गाविसको अधिकाँश भुभाग रातो माटोयुक्त रहेको र सुख्खा डाँडापाखा पखेरा समेत रहेको भएता पनि १३ वटा सामुदायिक वन दर्ता भई क्रियाशील छन् । ती वनहरूको क्षेत्रफलभित्रको जंगलले ढाकेको क्षेत्रमा प्रमुख रुपमा सल्लो, चिलाउने, खयर, साल, सिसौ, करम, बोटधँगेरो, सत्तीसाल, फल्याण, जामुना, बर्रो, हर्रो, फलामे, राजवृक्ष, कुम्भी, हल्लुँडे, चिउरी, हाडे, कदम, गौजो, धँगेरो, अमला, खरी, धुर्सुले, भोगटे, पैलेंटी, असारे, हाडेवयर, मौवा, कटुस, उत्तीस, दार, सिमल, खराने, बकाइनो, सिरिस, फिरफिरे, दबदवे लगायत वनस्पतीहरू पाइन्छ । यसैगरी मानिसहरूले घरवारीमा लगाएका बनस्पतीहरू जो घाँसको रुपमा प्रयोग हुन्छन्, मा बाँस, टाँकी, पटमिरो, बढहर, खन्यु, काभ्रो, कोइरालो, कटहर, आँप, सजिवन, नासपाती, आरु, दारिम, जुनार, सुन्तला, कागती, ज्यामिर, निबुवा, आल्चा, आरुवखडा, केरा आदि वनस्पतीहरू रहेको पाइन्छ ।
यसैगरी कुरुले तेनुपा गाविसमा रहेका विभिन्न जंगलहरूमा पाइने विविध खालको वन्यजन्तुहरू र चराचुरुङ्गीहरूमध्ये बाँदर, स्याल, चितुवा, मृग, घोरल, जंगली खरायो, दुम्सी, सुम्सा, लोखर्के, मलसाँप्रो, सालक, ओत, वन विरालो लगायत पाइन्छ । त्यस्तै पंक्षीहरूको संख्या पनि उल्लेख्य पाइन्छ । मयुर, कालिज, सुँगा, ढुकुर, जुरेली, चिभे, रुपी, काग, कोकले, लाहाँचे, चील, बेसारे, लाटकोसेरो, फिस्टा, भ्याकुर, वनकुखुरा, गौथली, हुच्चिल लगायत पाइन्छ भने पानी हाँस, बकुल्ला, हुटिट्याऊँ पनि तमोर नदी र नयाँ खोलातिर देखिने गरेको पाइन्छ ।

भू–उपयोग स्थिति :

Untitled-1
स्रोतः भू उपयोग नक्शा नापी विभाग

यस गाविसको भु–बनोट र भु–उपयोगको अवस्था हेर्ने हो भने टार, बेंसी, भीर, पहरा, पाखा, पखेरा, फाँटिलो खेत, वनजँगल आदिको संमिश्रण पाइन्छ । जम्मा ३८३६.९४ हेक्टर क्षेत्रफल रहेको यस गाविसको ४८.७७ प्रतिशत जग्गा खेतीयोग्य रहेको छ । ४२ प्रतिशत वनजंगलले ढाकेको छ भने २.०९ प्रतिशत जमिन झाडी तथा ३.२२ प्रतिशत जमिन घाँसले ढाकेको छ । ०.०५ प्रतिशत जग्गा भीरपाखा एवं बाँझो रहेको छ । करिव ३ प्रतिशत जग्गा वालुवा वगरमा पर्दछ भने ०.७३ प्रतिशत खोलानालाले ओगटेको पाइन्छ ।

गाउ“ विकास समितिको ऐतिहासिक पृष्ठभूमि :
धनकुटा जिल्लाका अन्य गाविसहरूजस्तै यो कुरुले तेनुपा गाविसको समेत ऐतिहासिक पृष्ठभुमि पाइन्छ । यस गाविसलाई जिल्लाकै शिक्षित गाविसको रुपमा लिने गरिन्छ । यो गाविसमा रहेका विभिन्न वडाहरू, टोलहरूको नामाकरण र यो गाविसको नामाकरणमा ऐतिहासिक महत्व छ । कुरुले तेनुपा गाविसको ऐतिहासिक नामाकरण कसरी रहन गयो भन्ने सन्दर्भमा विभिन्न किँवदन्तीहरू रहेको पाइन्छ । यस गाविसको हालको वडा नं. ४ डाँडागाऊँलाई पहिले कुरुले भन्ने गरिन्थ्यो । गाविसमा वडा विस्तार हुँदाको बखत ‘कुरिलो’ नामक वनस्पती पाइने र कुरिलो फाँडेर बस्ती बसेको आधारमा त्यस क्षेत्रको नाम नै कुरिले भनिएको र पछि अपभ्रंश भई ‘कुरुले’ लेख्न थालिएको भनाई रहेको छ । त्यस्तै गरी हालको वडा नं. ९ को तेनुपा गाऊँमा पहिलेदेखि नै लिम्बुहरूले जंगल फाँडेर जमिन उघारो बनाई बसोबास गरेको र लिम्बुहरूले मकै, धान लगाएर अत्यन्त उत्पादन गरेको कारण आफ्ना छोराछोरीलाई त्यो क्षेत्र निकै मलिलो माटो भएकोले बाली छर्नु भनी उनीहरूकै भाषामा ‘तेकिनुवा’ भनेर अर्ति उपदेश दिने गर्दथे भनिन्छ । उक्त भनाईको अर्थ बालीनाली लगाउनु सप्रन्छ भन्ने हुने हुँदा बालीनाली सप्रने ठाऊँ भएकोले त्यसलाई ‘ते किनुवा’ भनिएको हो भन्ने गरिन्छ । कालान्तरमा उक्त तेकिनुवा अपभ्रंश भई ‘तेनुपा’ भएको मानिन्छ । यसरी एउटै गाविस भित्र चर्चित तेनुवा गाऊँ र कुरुले गाऊँ एउटै डाँडामा पर्ने भएकोले गाविसको नाम ‘कुरुले तेनुपा’ रहन गएको हो भनिन्छ ।
यसैगरी वडा न. १ मा फलामेटार, खानीगाऊँ, बाजथला, पैरे लगायत टोलहरू रहेका छन् । फलाम र खानी पाइने हुँदा फलामेटार, खानीगाऊँ भनिएको बताइन्छ भने उहिले देखि नै ‘बाज’ भन्ने चरा बास बस्ने गर्दा गाऊँको नाम नै बाजथला रहेको मानिन्छ । पैरो जाने ठाऊँलाई पैरे भनिएको हो । त्यस्तै वडा नं. २ मा गढिगाऊँ, पौवा, भालुटार लगायत टोल रहेका छन् । गढी आकृतिको भुभाग भएकोले उक्त डाँडाको नाम गढिगाऊँ भनिएको बताइन्छ । गढिगाऊँ गाविसको केन्द्र हो जहाँ गाविसको कार्यालय, उपस्वास्थ्य चौकी, अतिरिक्त हुलाक, उच्च मावि समेत रहेका छन् । गाविसको वडा नं. ३ मा मगर जातिको बसोबास बाहुल्यता रहेको छ । त्यस वडाक्षेत्रमा प्रशस्त पाइने ‘गायो’ नामक डाले घाँसलाई मगर भाषामा ‘सुरुङ्गी’ भन्ने गरिएकोमा पछि उक्त वडाको नाम नै त्यहि रहन गएको भनिएको छ । त्यस्तै वडा न. ६ र ७ लाई सोगुम भनिन्छ । अधिकाँश लिम्बुजातीहरू बसोबास गर्ने उक्त गाऊँमा लिम्बु भाषाको ‘साखोम’ शब्द अपभ्रंश भई सोगुम भएको भनाई छ । लिम्बु भाषामा साखोमको अर्थ मासु टिप्नु हुने र पहिले जंगलैजंगल भएकोबेला त्यहाँबाट वन्यजन्तुको शिकार गरी मासु टिपेर लैजान पाइने हुँदा लिम्बुहरूले उक्त नाम राखेको बताइएको छ । वडा नं. ८ मा रहेका टोलहरू ठुलागाऊँ, भदौरे र भैंसेटारको पनि आफ्नै पहिचान रहेको छ । यस वडामा पहिलेदेखि नै ठुलाबडाको बसोबास रहेकोले टोलको नाम ठुलागाऊँ रहेको, भदौमा जँगल फाँडेर बाली लगाउने चलन भएकोले भदौरे र बस्ती बस्नु अगाडि नै माथिल्लो गाऊँटोलबाट भैंसीगोठ बसाएकोले भैंसेटार भनिएको भनाई रहेको छ । जसलाई बुँदागत रुपमा तल प्रस्तुत गरिन्छ ः

कुरुले तेनुपा गाविसको नामाकरण :
धनकुटा जिल्लाको सदरमुकामबाट सुदुर पुर्व लगभग ११ कोषको दुरीमा अवस्थित पहाडी गाविस कुरुले तेनुपा तमोर नदी, नम्फुवा र नावा खोला, जरुवा र छरुवा खोला तथा ठूलीभञ्ज्याङ्गको सिमामा घेरिएर रहेको छ । यसको नामाकरणमा प्रसस्तै किंवदन्तीहरू पाइएता पनि केहि बुढापाकाहरूका अभिव्यक्तिहरूलाई यहाँ उल्लेख गरिएको छ । समुन्द्रको सतहदेखि १३७३ मिटर उचाईमा २६’ ९५० उत्तरी आक्षाँश र ८७’ ४९० पुर्वी देशान्तरभित्र रहेको यस गाविसमा परापुर्वकालमा किराँतहरूको बसोबास रहेको मानिन्छ । पौराणीक कालमा पनि ‘पुर्व कैंराँत देशे’ भनी उल्लेख गरिएकोले होला अद्यापी संकल्पमा पुरोहितहरूले पढ्ने गरेको सुनिन्छ । यसरी उनीहरूको बसोबासको आधारमा आफ्नै भाषामा स्थानको नामाकरण गरिनु सान्दर्भिक ठानिन्छ ।
मे योङ र सोयोङ हाङहरू (हाङहरू भन्दा स्थानीय राजा भन्ने बुझिन्छ) पाँच भाइहरू प्रत्येक भाइहरूको बसोबास गर्ने ठाऊँलाई आ–आफ्नै नामका आधारमा नामाकरण गर्ने क्रममा दुरदेम्बा, लेम्बा, कुरुम्बा, लारुम्बा, कुरुदेम्बा आदि नामाकरण गरिएको र पछि बोलचालको क्रममा परिमार्जनवा अपभ्रंश हुँदै उच्चारणमा भिन्नता आएको पाइन्छ । यस्ता धेरै उदाहरणहरू खोजेअनुसार प्राप्त गर्न सकिन्छ । कुरुदेम्बा भन्ने एक भाइ कुरुदेम्बाहाङ यस ठाऊँमा आई बसोबास गर्दा आफ्नु गढ बनाउने क्रममा हालको गढिगाऊँलाई गढ बनाएको र त्यसै स्थानमा मानिसको बसोबास बढ्दै जाँदा गढिगाऊँ भएको हो । यसैगरी कुरुदेम्बाको राज्य भएकाले अपभ्रंश हुँदै कुरुदेम्बा कुरुले भएको हो भने ती तिनै मेयोङ र सोयोङहरूले छलफल, सल्लाह एवं भेला बस्ने ठाऊँ तेञ्जुप्पालाई अहिले तेनुपा भनिएको हो । कुरुले तेनुपा वडा नं. २ निवासी धर्मप्रसाद फागुका अनुसार यो मेयोङ सोयोङहरूको गढलाई याख्खाहरूले कुर्लेयाग पनि भन्ने गरेको किँवदन्ती रहेको छ । यसैगरी अर्को किँवदन्तीका आधारमा हालको खास कुरुले भन्ने ठाऊँमा पुर्वकालमा ‘कुरिलो’ नामको वनस्पतीको प्रचुरता रहेकाले कुरिले भन्दै कुरुले भएको हो भन्ने गरिन्छ ।जे जसरी भए पनि हाल कुरुले तेनुपाको नामले विख्यात यो गाविसको आफ्नै छुट्टै पहिचान रहेको छ । यसको अन्य स्थानहरूको पनि नामाकरण लिम्बु भाषाकै आधारमा रहेका किँवदन्तीहरू यसप्रकार रहेका छन् ः

बन्दुके डा“डा :
कुरुले तेनुपा गाविसको वडा न. ५ मा रहेको बन्दुके डाँडाका सम्बन्धमा भएको किँवदन्तीअनुसार तम् युङ् युग्नादेन (वनरुङ्गालो डाँडा) मा वनमा चोरी शिकारी रोक्न बन्दुक बोकी चौकीदारी गरिन्थ्यो र पछि बन्दुक बोक्ने मानिस बस्ने डाँडाभन्दा भन्दै बुन्दुके डाँडा भनिएको र हाल यो डाँडो कुरुले तेनुपामा सबभन्दा अग्लो डाँडोको रुपमा करिब १४०० मिटरको उचाईमा रहेको पाइन्छ ।

डिहिटार :
कुरुले तेनुपा गाविसको वडा नं. ४ मा रहेको डिहिटारका सम्बन्धमा भएको किँवदन्तीअनुसार राणाकालमा सरकारी कामकाजमा सेवारत कर्मचारीहरूलाई नगद तलबको सट्टामा जग्गा नै दिने चलन रहेको थियो । त्यसबखत डिट्ठा तहका कर्मचारीहरूलाई तलबभत्ताबापत दिइएको सो जग्गा डिट्ठाटारका नामले चिनिन्दै पछि पछि डिहिटारभएको र यो उर्वर भुमि पछि बराल पण्डितहरूको पुख्र्यौली जमिन मानिन्छ । आजसम्म पनि बराल पण्डितहरूको यस टारमा नाम चलेको छ ।

भैंसेटार :
कुरुले तेनुपा गाविसको वडा नं. ८ मा रहेको नदी किनारको यो ठाऊँमा धेरै पहिले पश्चिमबाट भैंसे थरका माझी आई बसोबास गरेको र यो ठाऊँ टाहार, राम्रो जग्गा भएकोले भैंसेटार भन्ने गरिएको बताइन्छ । पछि यही भैंसेटार हुँदा हुँदै भैंसेटार भन्न थालिएको किँवदन्ती पाइन्छ । अद्यापी यस ठाऊँमा भैंसे थरका माझीहरू अझै बसोबास गरिरहेका पाइन्छ ।

बाजथला :
कुरुले तेनुपा गाविसको वडा नं. १ मा पर्ने बाजथला भन्ने ठाऊँलाई बात्थला पनि भन्ने गरिन्छ । यस ठाऊँमा धेरै पहिले बाज (सेतो वाज) जसलाई चील भनिन्छ, प्रसस्त पाइन्थ्यो । सो चील पक्डन वा शिकार गर्न सुविधायुक्त जमिन(ठाऊँ) लाई बाजथलो (बाज पाइने थलो) भन्दा भन्दै पछि बाजथला भन्ने गरिएको पाइन्छ।

खानीगाऊ :
यो पनि कुरुले तेनुपा गाविसको वडा नं. १ मा पर्ने प्रसिद्ध ठाऊँ हो । पहिले यस ठाऊँमा प्रसस्त फलाम खानी थियो भनिन्छ । यहाँ प्रसस्त विश्वकर्मा खासगरी फलाम व्यवसायीहरूको बसोबास अद्यापी रहेकै छ । त्यसैले यस स्थानको नाम खानी गाऊँ रहेको, साथै यहीं उत्पादित फलामलाई प्रशोधन गर्न उपयुक्त स्थान त्यस नजिकै केहि तल समतल भुमि (टार) बनाएकोले त्यस टाहारलाई फलामेटार भन्ने गरिएको बताइएको छ ।
त्रैलोक्येश्वर महादेव स्थान, फलामेटार ः काबेली नदी, मधुगंगा (रुद्रवारी), भद्रग्रगा (भद्रबारी)को संगमस्थल प्रसिद्ध तीर्थस्थलको रुपमा अवस्थित त्रैलोक्येश्वर महादेवको स्थान यहीं फलामेटारमा नै अद्यापी विद्यमान छ । यातायात र प्रचारप्रसारको अभाव आदि कारणले यस स्थानको महत्व ओझेलमा परेकै छ । यस पवित्र धार्मिक स्थको पौराणिक कालदेखि विभिन्न पुराणहरूले उल्लेख गरेता पनि जनमानसमा यस पवित्र धार्मिक स्थानको त्यति प्रचार प्रसार भने हुन सकेको छैन । यसको प्रचारप्रसारको आवश्यकताको अनुभुति गरिएको भने छ ।
अ“धेरी :
गाविसको वडा नं. ५ मा पर्ने अँधेरी एउटा जंगल हो जसमा प्रसस्त ‘अंडेली’ भन्ने वनस्पती पाइन्थ्यो । यसको बोटबाट पाट निकाली जाबीझोला बुन्ने चलन थियो । यही अंडेलीघारीलाई पछि अँधेरी भन्न थालिएको हो भन्ने किँवदन्ती रहेको छ ।

बरगाछी :
गाविसको वडा नं. ५ मा रहेको श्री जनकल्याण निमावि भएको स्थानलाई बरगाछी भनिन्छ । यस ठाऊँमा वि.सं. २०२७ सालमा तत्कालीन जिविस सदस्य चन्द्रप्रसाद बराल र गाऊँ पञ्चायत प्रधानपञ्च अग्निप्रसाद बरालले वरको रुपको समिपमा शिलान्यास गरी विद्यालय स्थापना गरेकाले बरगाछी नामाकरण भएको हो । यही विद्यालय हाल निमावि भएको छ ।
यसरी यस गाविस अन्तरगतका विभिन्न स्थानीय नामहरू सबैको सान्दर्भिक अवस्थामा उल्लेख गर्न प्राय असम्भव रहेता पनि प्राप्त जानकारीका आधारमा सम्भव भएसम्म उल्लेख गर्ने प्रयास गरिएको छ । यसमा समाहित हुन नसकेका कुराहरू क्रमशः खोजी गर्ने आगामी संशोधनमा समावेश गर्न प्रयत्न गरिनेछ ।

गा.वि.स.मा रहेका चुनौति र समस्याहरू :
सदरमुकाम धनकुटा बजारबाट ११ कोष पूर्वमा अवस्थित यो कुरुले तेनुपा गाविस जिल्लाका ३५ गाविस मध्ये सबैभन्दा विकट गाविस मानिन्छ । भौगोलिक विकटता र सदरमुकामबाट टाढा भएका कारणले नै विकासमा पछि परेको यो गाउँमा वसोवास गर्ने आम नागरिकहरूको जीवनस्तर निक्कै कष्टरक नै छ । २१ औ शताब्दीका विकसित बैज्ञानिक प्रविधिहरूको उपयोग र प्रयोग त परकै कुरा भयो, विकासको मेरुदण्डको रुपमा रहेको यातायात समेत हालसम्म पनि यस गाविसमा पुर्ण रुपले संचालन हुन सकिरहेको छैन । मानिसलाई सभ्य शिक्षित र सम्पन्न बनाउने शिक्षाको गुणस्तरीयता सन्तोषजनक देखिदैन । जसको कारण आजको प्रतिस्पर्धात्मक समयमा हाम्रा यूवा पिंडीहरूले रोजगार लगायत अन्य अवसरहरू पाउन कठिनाई भइरहेको छ ।
विकासको अर्को महत्वपूर्ण पक्ष विद्युतीकरणको उपयोग गर्न आम कूरुलेवासीले अझ केहि बर्ष कुर्नै पर्ने देखिन्छ । त्यसै गरी स्वास्थ्य सेवा जस्तो आधारभुत सेवाको स्थिति पनि दयनीय नै छ । हाल संचालित एउटा उपस्वास्थ्य चौकीले कुरुलेवासी आम नागरिकहरूको स्वास्थ्य उपचारलाई प्रभावकारी ढंगबाट निदान गर्न नसकिरहेको अवस्थामा उपचारको लागि शहरका महंगा नर्सिङहोम तथा अस्पतालहरूमा जानुपर्ने बाध्यता छ । त्यस्तै गुणस्तरीय शिक्षाको खोजीमा आफ्ना बालवालिकाहरूलाई शहरका मंहगा निजि विद्यालयहरूमा लैजाने क्रम पनि बढ्दो छ । जसका कारण कमजोर आर्थिक स्थिति भएका कुरुलेवासीले निक्कै ठूलो आर्थिक मुल्य चुकाउनु परिरहेको छ भने अर्कोतर्फ अभिभावकहरूलाई छुटाएर राख्दा कलिला बालवालिका हरूमा गम्भीर मानसिक समस्या पर्न गई रहेको छ । जसका कारण अभिभावकहरूले ठूलो मूल्य चुकाउनु परिरहेको छ ।
राजनैतिक रुपमा सचेत र सकृय देखिएको कुरुले तेनुपा सत्ता र शक्तिमा रहेको पक्षहरूले आफ्ना कार्यकर्ता एवं शुभेच्छुकहरूलाई स्वेच्छाचारी ढंगबाट रोजगारीका अवसरहरू दिलाउने गरेको देखिन्छ । जसका कारण दक्ष र योग्य ब्यक्तिहरू अवसरबाट वञ्चित भएको देखिन्छ । यसैगरी कतिपय समाजमा घट्ने गरेका समाजिक अपराधहरूलाई राजनीतिकरण गरी दोषी ब्यक्तिहरूलाई ढाकछोप गर्ने गरेको पनि पाइन्छ । मानिसको मौलिक अधिकारको रुपमा रहेको वैचारिक स्वतन्त्रता माथि केही राजनैतिक शक्तिहरूले डर धाक धम्की श्रृजना गरी नागरिकहरूको आस्थालाई कुण्ठित पार्ने काम भएको पनि पाइन्छ ।
त्यसैगरी विज्ञान र प्रविधिको विकासले विश्वलाई नै एउटा सानो गाउँमा परिणत गरिसकेको अवस्थामा यस कुरुले तेनुपा गाविसमा टेलिफोनको सामान्य विकास र विस्तार भएता पनि सबै गाउँ,टोल,घर, परिवार सम्म यसको विस्तार भै सकेको छैनन् । देश विदेशका ताजा घट्ना एवं ज्ञान गुन तथा मनोरञ्जन दिलाउने पत्रपत्रिका, टेलिभिजन जस्ता कुराहरू कुरुलेवासी आम नागरिकहरूको पहुच भन्दा टाढै देखिन्छ । जसका कारण कुरुले वासीको वृत्ति विकासमा बाधा भै रहेको देखिन्छ । सनातन देखि चलिआएको हरेक जातजाती एवं सम्प्रदायको आ–आफ्नो मौलिक, साँस्कृतिक, भाषिक ,भेषभुषा लगायतका सम्पतिहरू क्रमिक रुपमा लोप हुदै गै रहेको अवस्था छ ।
स्वस्थ्य जीवनयापन र आय आर्जन समेतको स्रोतका रुपमा रहेको वनजंगल तथा बनपैदावारहरू घट्दो अवस्थामा छन् । जसका कारण दुर्लभ वन्यजन्तु घट्नुका साथै हाम्रो वातावरणमा समेत प्रतिकुल प्रभाव पारिरहेको छ जुन कुरा गाऊँबासीलाई थाहा छ पनि छैन पनि । वाढी, पहिरो जस्ता भुक्षयका कारण धनजनको क्षति सँगै जमिनको उर्वरा शक्तिमा कमि आइरहेको छ । पानीका स्रोतहरू दिनानुदिन घटिरहेका छन् । त्यसै गरी सामान खरिद गर्दा आउने प्लाष्टिकका झोला, विस्कुट चकलेटका खोल, जुत्ता चप्पल लगायतका अन्य विभिन्न खाले प्लाष्टिकहरूबाट हाम्रो वातावरण दिनानुदिन प्रदुषित भइरहेको छ । यसका अलावा कृषि उत्पादनमा समेत समस्या उब्जाएको छ । मानिसको दिसा पिसाव तथा अन्य फोहरहरू ब्यवस्थित नगर्नाले र धुम्रपान मद्यपान तथा खाना पकाउँदा चुल्होबाट निस्कने धुवा समेतले हाम्रो स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पु¥याई रहेको छ ।
कुरुलेवासीका यावत समस्याहरू मध्ये जीवनयापनसँग प्रत्यक्ष सरोकार राख्ने पिउने पानीको ठूलै समस्या छ । दक्षिण तर्फको अग्लो लेकबाट आएको डाँडो कुरुले प्रबेश गर्न नपाउदै भञ्ज्याङ भएर छिन्न गएको कारण लेकदेखि आउने पानीका स्रोतहरू बीचमा नै छिन्न गएका छन् । जसका कारण सिंचाई त परकै कुरा भयो पिउने पानी समेत स्थानीय स–साना स्रोतहरूमा निर्भर रहनु परिरहेको छ । उक्त स्रोतहरू पनि बर्षातको कमिका कारण दिनानु दिन घट्दो अवस्थामा छन् । दिगो पानीको स्रोतको खोजी नगर्ने हो भने भोलि गएर कुरुलेवासीले खानेपानीको अरु ठूलो संकट झेल्नु पर्ने प्राय निश्चित छ ।
मानिसको जीवन शैली निर्धारण गर्ने प्रमुख कुरा उसको आर्थिक अवस्था हो । जव मानिसको आयस्तर बृद्धि हुन्छ उसको जीवनस्तर स्वभावैले उन्नत हुंदै जान्छ । आम कुरुले वासीको अहिलेको आयस्तरलाई हेनै हो भने वास्तवमै निक्कै पीडादायक देखिन्छ । कृषि र पशुपालन नै प्रमुख आय आर्जन र जिवनयापनको स्रोत भएका कुरुले वासीका सामु गम्भीर चुनौती र समस्याहरू छन् । परम्परागत कृषि प्रणाली समेत सिचाइको अभाव, खण्ड वृष्टि अनावृष्टिबाट बाढी, पहिरो भुक्षय, कृषिमा आधुनिकिकरण तथा बैज्ञानिकीकरणको अभाव, उन्नत मल विऊविजनको अभाव, ब्यवस्थित पशुपालन नगर्नु, कृषिमा लगनशिलता र ब्यवसायिक नहुनु र कृषकले दुःख कष्ट गरेर उत्पादन गरेको वस्तुको उचित बजार ब्यवस्थापन र निकासी प्रबद्र्धन समेत नहुनु प्रमुख समस्याहरू हुन् । यी र यस्तै यावत समस्याहरूका कारण आम कुरुलेवासी नागरिहरूको जीवनस्तर निक्कै दयनीय कष्टकर र कमजोर रहेको देखिन्छ ।

कुरुले तेनुपा गाविसका सम्भावनाहरू र अवसरहरू :–
गाविसस्तरमा देखिएका यावत चुनौतीहरू सामना गर्दै जीवनयापन गरिरहेका आम कुरुलेवासी नागरिकहरूका बीच समुन्नत जीवन निर्वाह गर्न विभिन्न सम्भावनाहरू र अवसरहरू रहेका छन् । यातायात, शिक्षा, स्वास्थ्य, राजनीतिक व्यवस्था, विद्युत, खानेपानी, सञ्चार, भाषा संस्कृतिको संरक्षण, वनजंगल र प्राकृतिक साधनस्रोतको संरक्षण र सामाजिक सद्भाव र मेलमिलापको सिद्धान्तलाई आत्मसात गर्दै आइपर्ने सबैखाले समस्याहरूसंग जुध्ने र समाधानका उपायहरूमा एकजुट भएर लाग्ने हो भने कुरुले तेनुपा गाविसलाई नमुना गाऊँको रुपमा विकास गर्न सकिने संभावना रहेको छ । साथै आर्थिक, सामाजिक, साँस्कृतिक विकासको लागि समेत सबैले मिलेर काम गर्नुको विकल्प छैन । उद्योगधन्दाको संभावना कम भएको कारण कृषि र पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्दै समयसापेक्ष रुपमा उन्नत खेती प्रणाली अवलम्बनको लागि सबै गाऊँ बासीहरूलाई उत्प्रेरित गर्दै गाऊँविकास समितिभित्रको साधनस्रोतलाई त्यसैको विकासमा सदुपयोग गर्न सके पनि गाऊँबासीहरूको आर्थिक स्तर उकास्न मद्धत मिल्ने देखिन्छ । समस्याहरूको शान्तिपुर्ण समाधानका लागि विकेन्द्रीकरणको सिद्धान्तअनुरुप जनसहभागितामा गाऊँको विकास गर्नु गाऊँ विकास समितिको प्रमुख प्राथमिकता हुनुपर्दछ भने हाल जनप्रतिनिधिविहिन अवस्थामा समेत सर्वदलीय संयन्त्रको माध्यमबाट राजनैतिक सहिष्णुताका साथ विकास निर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु गराउनु संभावना, अवसर र चुनौती सबै हो भन्ने बुझ्न जरुरी छ ।

गा.वि.स.को अन्तर सम्बन्ध :
यो गाविस धनकुटा जिल्लाको पुर्व दक्षिण गाविस भएकोले पाँचथर जिल्लासंग सिमानामा पर्दछ । त्यसैले उत्तरी सिमाना पाँँचथर जिल्लालाई छोएको छ भने पश्चिम सिमाना तमोर नदीले काटेको छ । त्यसैले यो गाविसको दक्षिणी छिमेकी गाविस बोधे र मौनाबुधुकसंग घनिष्टतम् सम्बन्ध रहेको छ भने पुर्वी दक्षिणको मुढेवास र वसन्तटार गाविससंगको सम्बन्ध पनि उत्तिकै घनिष्ट रहेको पाइन्छ ।
यो गाविसको सबैभन्दा नजिकको साप्ताहिक हटिया शुक्रबारे बजार छिमेकी मुढेवास गाविसमा रहेको छ भने मुढेवास गाविसकै उपस्वास्थ्य चौकीमा स्वास्थ्य सेवाको लागि केहि वडाका बासिन्दाहरू निर्भर छन् । केहि वासिन्दाहरू छिमेकी मौनाबुधुक गाविसको स्वास्थ्य संस्थामा समेत जाने गरेको पाइन्छ । केहि वडाका वासिन्दाहरूको खेती छिमेकी मुढेवास गाविस र वसन्तटार गाविसमा पर्ने हुँदा उत्पादीत अन्नपात समेत छिमेकी गाविसबाट आउने गर्दछ । पशु सेवा उपकेन्द्र, प्रहरी चौकी, इलाका हुलाक कार्यालय यस गाविसको लागि समेत छिमेकी मुढेवास गाविसमा रहेको छ । विशेषतः यो गाविस तमोर नदीकिनारदेखि गढिगाऊँ, बन्दुकेडाँडा, पोखरी डाँडासम्म फैलिएको र छिमेकी मुढेवाससंगको सिमाना भञ्ज्याङ्ग परेर काटिएको हुँदा भञ्ज्याङ भन्दा माथिल्लो भाग लेकाली भेग पर्दछ भने यो गाविसको अधिकाँश भाग बेंसी क्षेत्र हो । त्यसैले लेक र बेंसीको संगम शुक्रबारे बजार नै मुख्य बजार हो जहाँ अन्नपात र तरकारी बाली सबैको लेकाली र बेंसीका जनताले खरिद बिक्री र आदानप्रदान गर्ने गर्दछन् ।
शिक्षाको सन्दर्भमा यस गाविसमा रहेको दश जोड दुई विद्यालय छिमेकी मुढेवास गाविसको लागि पनि रहेको छ भने कतिपय विद्यार्थीहरू यस गाविसबाट छिमेकी मुढेवास गविस र बोधे गाविसमा समेत पढ्न जाने गरेका छन् । उता वसन्तटार गाविसमा रहेको स्वास्थ्य चौकी अठारसयसंगको सम्बन्ध पनि उपस्वास्थ्य चौकीमार्फत नियमित र घनिष्ट रहेको छ । यस गाविसबाट एसएलसी तथा दश जोड दुईको परीक्षा दिन छिमेकी मौनाबुधुक गाविसको परीक्षा केन्द्र रहेको विद्यालयमा जाने गरिएको छ । उता सडक सञ्जाल अन्तरगत राजारानी, मौनाबुधुक हुँदै कुरुले तेनुपा गाविस जोड्ने सडक कच्ची निर्माण भइसकेको छ भने मुढेवास कुरुले तेनुपा सडक पनि गाविससम्म पुगिसकेको अवस्था छ । जसको लागि सबै गाविसहरूसंगको कुरुले तेनुपा गाविसको अन्तरसम्बन्धलाई हालसम्म घनिष्ट रहेको मान्न सकिन्छ ।

Do NOT follow this link or you will be banned from the site!